एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, इपीएस कति ?
२८ साउन, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा २८.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ४० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १९ अर्ब ८२ करोड ६८ लाख रुपैयाँबाट ६.६५ प्रतिशतले बढेर २१ अर्ब १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल आम्दानी पनि गत आर्थिक वर्षमा ३३ अर्ब ४६ करोड रुपैयाँ नाघेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३.५२ प्रतिशतले धेरै हो । कम्पनीको यस्तो आम्दानी अघिल्लो आवमा ३२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात १.६१ प्रतिशतमै यथावत रहेको छ । चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोष ५.५४ प्रतिशतले बढेर ७७ करोड ३५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २३ प्रतिशतले घटेर २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ८७ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १ अर्ब ४६ अर्ब माथि पुगेको छ । अघिल्लो वर्ष यस्तो कोषको आकार १ खर्ब ३२ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : August 13, 2026 at 11:43 am


