२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले बनायो समिति

२७ साउन, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनका लागि कानुनी तथा सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने सुधारबारे अध्ययन गर्न दुई अलग अलग समिति गठन गरेको छ ।

 आयोगले कानुनी व्यवस्था सम्बन्धमा अध्ययन गर्न आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा गठन गरेको समितिमा कानुन, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने भएका छन् ।

त्यस्तै, सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न अर्का आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा समिति गठन भएको छ ।

उक्त समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, प्रहरीको साइवर ब्यूरोलगायतका निकायका प्रतिनिधि रहने भएका छन् । समितिहरुलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रकाशित मिति : August 12, 2026 at 6:01 pm