आवश्यक परे अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या समाधान गर्छुः अध्यक्ष भट्ट
२६ साउन, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजार सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल सेयर बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटवार्तामा सेबोन अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हित संरक्षण र बजारमा पारदर्शिता कायम गर्नु आफ्नो प्राथमिकता रहेको बताएका हुन्।
अध्यक्ष भट्टले विद्यमान कानुनी जटिलताका कारण बजार सुधारमा समस्या देखिए नयाँ धितोपत्र ऐन निर्माणका लागि आवश्यक पहल गर्ने बताए। ऐन निर्माणमा ढिलाइ भए आवश्यकताअनुसार अध्यादेशमार्फत समेत समस्या समाधान गर्न आफू तयार रहेको उनको भनाइ थियो।
संघका उपाध्यक्ष भगवानबहादुर रावतको नेतृत्वमा महासचिव रविन कँडेल तथा कार्यसमिति सदस्य ऋषि भेटवाल र विवेक श्रेष्ठसहितको टोलीले सेबोन अध्यक्षसँग भेट गरेको थियो।
भेटमा उपाध्यक्ष रावतले मुलुकको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल सीमित रहेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसकेको विषय उठाएका थिए।
बजारमा हल्ला र अफवाहका आधारमा हुने उतारचढावका कारण विशेषगरी साना लगानीकर्ताको बचत जोखिममा परेको भन्दै सङ्घले सेयर बजारलाई सीमित समूहको नाफा कमाउने माध्यम नभई अर्थतन्त्रको विकासमा योगदान गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको थियो।
छलफलका क्रममा लगानीकर्ता प्रतिनिधिहरूले बजारमा देखिने भित्री कारोबार (इन्साइडर ट्रेडिङ), कृत्रिम रूपमा सेयर मूल्य बढाउने तथा घटाउने गतिविधि र सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचनामाथि नियामकको प्रभावकारी निगरानीबारे प्रश्न उठाएका थिए।
जवाफमा अध्यक्ष भट्टले बजार सुधारका लागि आफूले काम अघि बढाइसकेको दाबी गर्दै लगानीकर्तालाई कम्पनी तथा बजारको वास्तविक अवस्था बुझेर मात्र लगानी गर्न आग्रह गरे। बोर्डले लगानीकर्ता सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो।
तर, लगानीकर्ता प्रतिनिधिहरूले विगतमा पनि नियामक नेतृत्वबाट यस्तै प्रतिबद्धता आउने गरे पनि ठूला घटनामा प्रभावकारी कारबाही हुन नसकेको भन्दै कडा नियमन र शीघ्र अनुसन्धानको आवश्यकता औंल्याएका थिए।
अध्यक्ष भट्टले सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङ लागू गर्ने विषयमा आफू लामो समयदेखि अध्ययन तथा वकालत गर्दै आएको उल्लेख गर्दै अब यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने बताएका थिए।
यसका लागि आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको र लगानीकर्ताले निकट भविष्यमै यसको प्रयोग गर्न पाउने उनको दाबी थियो। त्यसैगरी, बजारको आधुनिकीकरणका लागि बोर्डको आन्तरिक पूर्वाधार तथा संरचनागत क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता पनि अध्यक्ष भट्टले व्यक्त गरेका थिए।
प्रकाशित मिति : August 11, 2026 at 2:02 pm



