२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा, मूल्य कति ?

२५ साउन, काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, स्वास्थ्य निगरानीका आधुनिक सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक गरेको छ। सिरिजअन्तर्गत रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीन मोडल रहेका छन्।

सिरिजको प्रमुख मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले छ। यसको अधिकतम चमक २ हजार निट्ससम्म पुग्छ। प्रिमियम आल्मुनियम एलोय फ्रेममा उपलब्ध यस स्मार्टवाचको ब्याट्री सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।

डुअल एल–१ फाइभ–सिस्टम जीएनएसएस, विभिन्न स्वास्थ्य निगरानी सुविधा तथा दुईवटा बटनमार्फत सहज सञ्चालन गर्न सकिने सुविधा यसमा छन्। ५ एटीएम पानी प्रतिरोधी क्षमताका कारण पानीको सम्पर्कमा आउँदा पनि स्मार्टवाच सुरक्षित रहने कम्पनीको भनाइ छ।

त्यस्तै, रेड्मी वाच–६ लाइटमा १.९६ इन्चको एमोलेड डिस्प्ले र १ हजार ५ सय निट्ससम्मको अधिकतम चमक छ। ५ एटीएम पानी प्रतिरोधी क्षमतासहितको यस स्मार्टवाचमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित स्थान पहिचान, ९–अक्षीय गति मापन सेन्सर तथा व्यावसायिक पौडी मोडलगायत सुविधा छन्।

४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म साथ दिने कम्पनीले जनाएको छ। यसमा मुटुको धड्कन मापन, प्रकाश मापन र एक्सेलेरेसन सेन्सरलगायत सुविधा पनि छन्।

रेड्मी वाच–६ एक्टिभमा १.८५ इन्चको एमोलेड डिस्प्ले र १ हजार २ सय निट्ससम्मको अधिकतम चमक रहेको छ। यसमा आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमता दिइएको छ। ९.९ मिलिमिटर पातलो र हलुका फ्ल्याट–एज डिजाइन तथा सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण यो दैनिक प्रयोगका लागि आरामदायी रहेको कम्पनीले जनाएको छ।

यसमा ब्लुटुथ कलिङका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (एसपीओ२) र तनावको निगरानी गर्ने सुविधा छ। सामान्य प्रयोगमा यसको ब्याट्री १८ दिनसम्म चल्ने कम्पनीको दाबी छ।

रेड्मी वाच–६ ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध छ। यसको मूल्य २० हजार ४९९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, रेड्मी वाच–६ लाइट ब्ल्याक र स्टिल ग्रे रङमा उपलब्ध छ। यसको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ। रेड्मी वाच–६ एक्टिभ भने मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ, जसको मूल्य १० हजार ९९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : August 10, 2026 at 5:45 pm