२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, प्रतिसेयर आम्दानी कति ?

२५ साउन, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको भन्दा २८८.४० प्रतिशतले धेरै हो । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको नाफा २ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले गत वर्ष १८ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जुन अघिल्लो वर्ष १५ करोड ४९ लाख ४६ हजार रुपैयाँ मात्र थियो । अघिल्लो वर्ष १५ करोड ४१ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको जगेडा कोष समीक्षा अवधिमा २ करोड ९० लाख ९४ हजार रुपैयाँले धनात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ६१.४७ रुपैयाँबाट सुधारिएर १०३.६४ रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १७ पैसा रहेको छ ।

शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ४० करोडबाट बढेर ८० करोड रुपैयाँ पुगेको छ । हकप्रदबाट प्राप्त रकमको ठूलो हिस्सा बैंकको दीर्घकालीन ऋण भुक्तानीमा उपयोग गरिएकाले कम्पनीको वित्तीय भार समेत घटेको छ । अघिल्लो वर्ष ८८ करोड २८ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण अहिले घटेर २९ करोड २९ लाख रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : August 10, 2026 at 10:25 am