२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

नुवाकोटको घ्याङस्वारामा व्यावसायिक चिया उत्पादन सुरू, मूल्य प्रतिकिलो ६ हजार

२४ साउन, नुवाकोट । नुवाकोटमा अर्ग्यानिक चिया उत्पादन सुरु भएको छ। पञ्चकन्या गाउँपालिका–४ को घ्याङस्वारामा बाँझो सार्वजनिक जग्गालाई खेतीयोग्य बनाएर लगाइएको चियाले उत्पादन दिन थालेपछि गाउँपालिकाले यसको व्यावसायिक बिक्रीका लागि मूल्यसमेत निर्धारण गरेको छ।

पालिकाले उत्पादन गरेको ‘घ्याङस्वारा अर्ग्यानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार रुपैयाँ तोकेको छ। ५०० ग्रामको ३ हजार रुपैयाँ, २५० ग्रामको १ हजार ५ सय रुपैयाँ, १०० ग्रामको ६ सय रुपैयाँ, ५० ग्रामको ३ सय रुपैयाँ र २५ ग्रामको १ सय ५० रुपैयाँमा बिक्री गर्ने गरी मूल्य तय गरिएको गाउँपालिकाले जनाएको छ।

घ्याङस्वारामा तीन वर्षअघि रोपिएका चियाका बिरुवामध्ये हाल १२ हजार ५० बोटले उत्पादन दिन थालेका छन्। चियाको गुणस्तर परीक्षणमा उत्कृष्ट नतिजा आएपछि अर्थोडक्स तथा अर्ग्यानिक चियाको बजार मूल्य, उत्पादन लागत र उपभोक्ताको मागलाई आधार बनाएर मूल्य निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए।

चियाखेती तथा बिक्री व्यवस्थापनका लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाएर ‘घ्याङस्वारा चिया व्यवस्थापन समिति’मार्फत काम अघि बढाएको छ। गत चैतमा पहिलोपटक टिपिएको चियापातको प्रशोधन सफल भएपछि पालिकाले यसलाई आम्दानीसँग जोड्ने गरी व्यावसायिक उत्पादन र बिक्रीको तयारी थालेको हो।

पञ्चकन्या गाउँपालिकाले गत वैशाखमा उत्पादनलाई ‘घ्याङस्वारा अर्ग्यानिक चिया’ नाम दिएर सार्वजनिक गरेको थियो। अब आवश्यक कानुनी प्रक्रिया, ट्रेडमार्क र अनुज्ञापत्र पूरा गर्दै उत्पादनलाई नियमित रूपमा बजारमा पुर्‍याउने तयारी भइरहेको छ।

पञ्चकन्या–४ घ्याङस्वाराको ३३२ रोपनी सार्वजनिक जग्गामा चियाखेती गरिएको हो। चार वर्षअघिसम्म झारपातले ढाकिएको बाँझो जमिनलाई स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक र विद्यार्थीको श्रमदानबाट खेतीयोग्य बनाइएको थियो। त्यहाँ करिब ८३ हजार चियाका बिरुवा रोपिएकोमा उत्पादन दिन थालेका बिरुवाको संख्या क्रमशः बढ्दै गएको छ।

समुद्री सतहबाट १ हजार ८ सयदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको घ्याङस्वारामा चियाखेती विस्तार गर्ने गाउँपालिकाको योजना छ। स्थानीय किसानलाई अनुदानमा वितरण गर्न थप ८४ हजार बिरुवा पनि तयार पारिएको छ। उत्पादित चियापातको प्रशोधनमा ककनीस्थित चिया तथा कफी विकास कार्यालयले प्राविधिक सहयोग पुर्‍याएको छ।

प्रकाशित मिति : August 9, 2026 at 1:51 pm