माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालन, करदाता उपहार कार्यक्रममा सहभागी हुने अवसर
२२ साउन, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रम बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंक वा वालेटको मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्ने उपभोक्ताका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन्। यसका लागि ग्राहकले छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता नपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार एमबीएल एम–स्मार्ट एपमा लगइन गरी ‘बिल जितौँ’ मेनुमा प्रवेश गरेपछि ग्राहकले उपहार कार्यक्रमका लागि योग्य भएका कारोबारको संख्या, विस्तृत विवरण तथा विजेता भएमा सोसम्बन्धी जानकारी एकै स्थानबाट सहज रूपमा हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्ने व्यवस्था गरेको छ। यसअन्तर्गत प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
बैंकले आफ्ना ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल एम–स्मार्टको ‘बिल जितौँ’ मेनुमार्फत योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।
माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
साथै, ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित ग्राहकलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।
प्रकाशित मिति : August 7, 2026 at 1:49 pm



