अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
२० साउन, काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले तीन महिनाका लागि निक्षेप संकलन गर्ने प्रक्रिया अघि बढाएको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल गर्न सकिनेछ। निक्षेपको निष्कासन आजै हुनेछ भने यसमा लागू हुने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा तय गरिनेछ।
निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते एकमुष्ट भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको सीमाभित्र रहेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र यस बोलकबोल प्रक्रियामा भाग लिन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदर प्रस्ताव गर्दै एकभन्दा बढी आवेदन पनि पेस गर्न सक्ने व्यवस्था छ।
केन्द्रीय बैंकले बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्दै मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यस्तो व्यवस्थामार्फत बैंकिङ प्रणालीमा रहेको बढी तरलता प्रशोचन गर्ने राष्ट्र बैंकको उद्देश्य रहेको छ।
प्रकाशित मिति : August 5, 2026 at 11:59 am



