३३.५० प्रतिशतले बढ्याे नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
२० साउन, काठमाडाैं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले आफ्नो लाभांश क्षमता १९.१० प्रतिशत पुर्याएको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता १४.२५ प्रतिशत मात्रै थियो । बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँबाट ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आवमा १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आवमा बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ। यस्तै, बैंकको खुद फी तथा कमिसन आम्दानी पनि सामान्य वृद्धि हुँदै ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा कर्जा नोक्सानी व्यवस्थामा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ रहेकोमा गत आबमा घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ४.४८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ४.२० प्रतिशतमा झरेको हो ।
बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ (जसमा ५ अर्ब रुपैयाँ बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार सेयर समेत समावेश छ)। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ।
याे अवधिमा बैंककाे प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८९ पैसाबाट बढेर २८ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैयाँ रहेको छ। यस्तै मूल्य आम्दानी अनुपात १८.८६ गुणा छ ।
प्रकाशित मिति : August 5, 2026 at 9:44 am



