गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष अहिरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा)को ठेक्कामा अनियमितता गरी राजस्व चुहावट गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्सट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का, कम्पनीका प्रतिनिधि विरास पुन र सगुन कन्सट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि (बुटवल) विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा वडा नं. १ र २ का विभिन्न स्थानबाट नदीजन्य पदार्थ उत्खनन र संकलनका लागि सगुन कन्स्रक्सन, बुटवल सँग ठेक्का सम्झौता गरेको थियो। उक्त ठेक्का कार्यान्वयनका क्रममा स्थलगत निरीक्षण, नापजाँच र प्राविधिक प्रतिवेदन बिना नै जथाभावी उत्खनन गर्न दिइएको आयोगको अनुसन्धानले देखाएको छ।
अख्तियारले पाँचै जना प्रतिवादीहरूबाट जनही एक करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बमोजिमको जरिवाना र सजायको मागदाबी गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम राजस्व चुहावट गरेको कसुरमा बिगोको दोब्बर जरिवाना र कैद सजायको माग गरिएको छ।
प्रकाशित मिति : August 4, 2026 at 3:42 pm



