नुवाकोट घ्याङफेदीकाे दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सहयोग प्रदान
१३ फागुन, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । प्रदेश नं ३ सरकारले प्रतिपरिवार रु एक लाख राहत दिने निर्णय गरेअनुसार मृतकका परिवारका सदस्यलाई आज दुप्चेश्वर–६ रामतीमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जमकट्टेलले राहत प्रदान गर्नुभयो ।

मन्त्री जमकट्टेलले २२ मृतकका परिवारलाई प्रतिपरिवार रु एक लाखको चेक प्रदान गर्नुभएको हो । कार्यक्रममा उहाँले ग्रामीण भेगमा निर्माण भएको सडकलाई सुरक्षित बनाउन प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्दै जहातही विना योजना सडक विस्तार गर्दा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले जताततै सडक नखनी हरेक गाउँमा एउटा सडक निर्माण गर्न र त्यसलाई स्तरीय तथा बाह्रै महीना सञ्चालन हुन सक्ने गरी निर्माण गर्नु पर्ने बताउनुभयो । प्रदेशसभा सदस्य बद्री मैनालीले मृतकका परिवारलाई राहत दिए पनि घाइतेको उपचारका लागि पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले प्रदेश सरकारको सहयोगले मृतकका परिवारलाई थोरै भए पनि राहत भएको बताउनुभयो । गत मङ्सिर २८ गते भएको मिनीट्रक दुर्घटनामा २२ जनाको ज्यान गएको थियो । दुर्घटनामा १४ घाइते भएका थिए ।
प्रकाशित मिति : 20:50









