१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

प्युठानको सामुदायिक वनबाट ठूलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद

१८ साउन, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ठूलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले वन क्षेत्रभित्र पातपतिङ्गरले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त हतियारहरू फेला पारेको हो।

इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले सो स्थानबाट कुल ३२ नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार बरामद गरिएकामध्ये १८ थान साबुत (अखण्ड) र १४ थान बेसाबुत भरुवा बन्दुक रहेका छन्।

साथै, प्रहरीले बन्दुकका थप पार्टपुर्जाहरू पनि बरामद गरेको छ। जसमा ४ थान बन्दुकको नाल, १ थान बटको कुण्डा र ३ थान भरुवा बन्दुकको चाप (फायर गर्ने संयन्त्र) रहेका छन्।

वनमा यति ठूलो परिमाणमा हतियार कसले, कुन प्रयोजनका लागि र कहिले लुकाएको हो भन्ने विषयमा खुल्न सकेको छैन। हाल बरामद गरिएका सम्पूर्ण हातहतियार प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : August 3, 2026 at 3:17 pm