१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

अमेरिकी भिसाका लागि नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

१७ साउन, काठमाडौं । नेपालसहित ५० देशका नागरिकले अमेरिकी भिसाका लागि ३० लाखसम्म धरौटी राख्नुपर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकले अमेरिकी बी–१ व्यवसायिक र बी–२ पर्यटक भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलर करिब ३० लाख सम्मको धरौटी राख्नुपर्ने भएको हो । अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाएको छ।

यसअघि परीक्षण कार्यक्रम सञ्चालनका क्रममा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो । तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ । अब १० हजार र २० हजार अमेरिकी डलर गरी दुईवटा विकल्प मात्र कायम गरिएको छ ।

dainiki.com

यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ । भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था मुख्य रूपमा अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकका लागि लागू हुनेछ । दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा परेका छन् । त्यस्तै, अफ्रिकाका अधिकांश मुलुकसहित विश्वका ५० देशका नागरिकलाई यो व्यवस्थाको दायरामा राखिएको छ ।अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘भिसा ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरेको जनाएको छ ।

प्रकाशित मिति : August 2, 2026 at 10:33 am