१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

रश्मीको आइतबार अन्त्येष्टि, खनालसहित तीनविरूद्ध किटानी जाहेरी

१० साउन, काठमाडौँ । सानिमा क्यापिटल लिमिटेडकी कम्प्लाइन्स अफिसर रश्मी रिजालको आइतबार पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । नुवाकोटको तादी गाउँपालिका स्थायी घर भएर काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नम्बर ९ बस्दै आएकी रिजालले शुक्रबार आत्मदाह गरेकी थिइन ।

घटना शुक्रबारकै भए पनि शनिबार दिउँसोमात्र रश्मीको वास्तविक अवस्था पत्ता लागेको थियो । आइतबार शवको पोस्टमार्टम गरेर अन्त्येष्टि गरिएको हो । ४५ वर्षीया रिजाल शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा एमजीको कोमेटमा मृत अवस्थामा भेटिएकी थिइन । रश्मीको एक छोरा र श्रीमान रहेका छन ।  मृत्यु प्रकरणमा प्रहरीले गम्भीर अनुसन्धान सुरू गरेको छ ।

तीन जनाविरूद्ध किटानी जाहेरी 

सीसीटीभी फुटेजबाट रिजालले आत्मदाह गरेको पुष्टि भए पनि आत्मदाहको कारण भने प्रहरीले खोजी रहेको छ । त्यसैका लागि प्रहरीले क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास खनालसँग तीनविरूद्ध किटानी जाहेरी लिएको छ । प्रहरीले जाहेरीका आधारमा थप अनुसन्धान अघि बढाएको छ । परिवारका सदस्यले खनालसहित रश्मीको खोजी नाममा घर खानतलासी गर्न पुगेका तीन जनाको नाममा किटानी जाहेरी दिएका हुन ।

के भएको थियो ?

परिवारका सदस्यहरूका अनुसार रश्मी शुक्रबार बिहान करिब ७ बजे आसपासमा रश्मी कार्यालय जाने भनेर घरबाट निस्केकी थिइन । तर उनी कार्यालय गइनन् । उनी कार्यालय नआएको कुरा करिब १ बजेतिर स्वयं प्रमुख कार्यकारी अधिकृत खनालले रश्मीको घरमा जानकारी गराए । त्यसपछि घरमा पनि हल्लीखल्ली सुरू भयो । सँगै खोजी सुरू भयो । दुई घण्टापछि करिब ३ बजेतिर खनालसिहतको क्यापिटलको तीन सदस्य टोली रिजालको घरमा पुग्यो । त्यसपछि उनीहरूले प्रहरीले छापा मारेकै शैलीमा ल्यापट र केही कागजात कता छन भन्दै आत्तिको भावमा खोजी गर्न थाले । उनीहरूले केही पनि पाएनन् । त्यसको एकछिनमा त्यसै फर्किए ।

परिवारले आफन्त र सम्भावित ठाउँमा खोजीनीति गरेपछि प्रहरीलाई खबर गर्यो । राति पनि रश्मी घरम आइनन् । शुक्रबार त्यस्तै गयो । परिवार पुरै तनावमा रह्यो । शनिबार बिहानै फेरि खनालसहितको क्यापिटलको टोली रश्मीको घरमा पुग्यो र फेरि प्रहरीकै खानतलासीको शैलीमा ल्यापटपको खोजी गर्यो तर पाएन । सम्भावित सबै ठाउँमा सूचना बाँड्दा पनि रश्मी पत्ता नलागेपछि परिकारका कतिपय सदस्यले फेसबुक मार्फत रश्मीको खोजीमा सहयोग गरिदिन भन्दै उनको तस्बिर र गाडीको तस्बिर सार्वजनिक गरेपछि त्यसपछि व्यापक हल्लीखल्ली भयो । बालुवा प्रशोधन केन्द्र आसपासबाट वेवारिसे गाडी फेला परेको कुरा प्रहरीकोमा पुग्यो । त्यसपछि प्रहरीको टोली पुगेर हेर्दा रश्मी त्यही एमजीको कोमेटको पछाडि सिटमा मृत अवस्थामा फेला परिन । प्रहरीले प्रक्रिया पूरा गरेर घटनास्थलको मुचुल्का तयार गरेर शनिबार अपरान्ह रश्मीको शब त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम केन्द्रमा लगियो भने गाडी प्रहरी चौकीमा लगियो ।

रश्मीको मृत्युको खबर व्याप्त भएपछि केही मिडियाले सेयरमा डुबेर त केहीले बढुवा नभएको कारण आत्मदाह गरेको भनेर समाचार लेख्न भ्याए । त्यही मेसोमा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समेत सेयरमा डुबेपछि रश्मीले आत्मदाह गरेको भनेर फेसबुकमा प्रचार गर्न भ्याए । यता परिवारमा भने क्यापिटलकै कारण रश्मीको यस्तो अवस्था आएको भन्दै रूवाबासी चल्यो ।

विकासको गतिबिधि अस्वभाविक

आइतबार रश्मीको अन्त्येष्टिमा मलामीको कुराकानीको केन्द्रमा थिए क्यापिटलका प्रमुख कार्यकारी अधिकृत खनाल । उनले प्रहरीले छापा मारेकोजस्तै गरी कर्मचारीको घरमा किन खानतलासी गरे भन्ने कुरा मुख्य चासोको विषय बन्यो । कर्मचारीकै भए पनि व्यक्तिको सम्पत्ति माथि उसको अधिकार हुन्छ । प्रहरीले खानतलासी गर्नुपरे पनि उसले कारण दिएर गर्छ ।

शुक्रबारको दिन १ बजेसम्म कार्यालय नपुगेको कर्मचारीको ल्यापट खोज्दै ३ बजे प्रमुख कार्यकारी अधिकृतसहित नै किन घरमा खानतासी गर्न पुगे भन्ने प्रश्नले रश्मीको आत्मदह कार्यालयको तनावकै कारण हुन सक्ने अनुमान गरिएको छ । यद्ययी यसमा प्रहरीले जाहेरी लिएर अनुसन्धान गरिरहेकाले बाँकी तथ्य प्रहरीले खोज्ने नै छ ।

स्रोतका अनुसार रश्मीको केही दिनअघि सरूवा गरिएको थियो । विकासले रश्मीको ठाउँमा उनीभन्दा निकै जुनियर कविन्द्र मल्लालाई ल्याइएको थियो । कविन्द्र तीनै हुन जो रश्मीको घर खानतलासी गर्न पुगेका थिए । घरमा पुग्ने अर्का स्टाफ भने अविन न्याैपाने रहेका छन ।

निष्कर्ष प्रहरी अनुसन्धानपछि

यो आत्महत्याको घटना मात्र नभई कार्यस्थल, संस्थागत जिम्मेवारी र अनुसन्धान प्रक्रियासँग जोडिएको गम्भीर विषय बन्न पुगेको छ । प्रारम्भिक रूपमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सेयर बजारमा घाटा वा बढुवा नपाएको कारण आत्मदाह गरेको भन्ने अनुमान सार्वजनिक गरिए पनि त्यस्ता दाबीलाई पुष्टि गर्ने आधिकारिक आधार अहिलेसम्म सार्वजनिक भएको छैन । यसले तथ्य पुष्टि नगरी संवेदनशील घटनामा अनुमानका आधारमा समाचार र टिप्पणी गर्नु कति जोखिमपूर्ण हुन्छ भन्ने पनि देखाएको छ।

घटनामा सबैभन्दा धेरै प्रश्न उठेको विषय भनेको रश्मी बेपत्ता भएको केही घण्टामै कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले उनको घरमा पुगेर ल्यापटप र कागजात खोज्नु हो । परिवारको किटानी जाहेरी पनि यही घटनाक्रमसँग जोडिएको छ । कुनै कर्मचारी सम्पर्कविहीन भएको अवस्थामा संस्थाले उसको निजी घरमा प्रहरीको शैलीमा खोजतलास गर्नु सामान्य अभ्यास होइन । यही कारण कम्पनीको भूमिकामाथि शंका उत्पन्न भएको छ । जसको सत्यता अब प्रहरी अनुसन्धानबाट मात्र स्पष्ट हुन सक्छ।

यस घटनाले कार्यस्थलमा कर्मचारीमाथि पर्ने मानसिक दबाब, संस्थागत व्यवहार, गोपनीयता र कर्मचारी अधिकारका विषयलाई पनि बहसको केन्द्रमा ल्याएको छ । यदि कुनै कर्मचारी कार्यस्थलको तनावका कारण यसरी मृत्यु रोज्ने निर्णयमा पुगेको हो भने त्यसले संस्थागत उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाउँछ । तर त्यसको निष्कर्ष अनुसन्धान पूरा नभएसम्म निकाल्नु उचित हुँदैन।

रश्मीको आत्मदाहसम्म पुग्न बाध्य बनाउने परिस्थिति, कम्पनीका अधिकारीहरूको भूमिका तथा परिवारले उठाएका प्रश्नहरूको निष्पक्ष, वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धान हुनु अहिलेको आवश्यकता हो । दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइनुपर्छ र यदि कुनै संस्थागत कमजोरी वा मानसिक उत्पीडन देखिए त्यसलाई पनि कानुनअनुसार सम्बोधन गरिनुपर्छ । साथै सञ्चारमाध्यम, सार्वजनिक व्यक्तित्व र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि संवेदनशील घटनामा अपुष्ट अनुमानभन्दा प्रमाणमा आधारित सूचना मात्र सार्वजनिक गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

प्रकाशित मिति : July 26, 2026 at 9:52 pm