९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नुवाकोटकी रश्मि काठमाडाैँमा मृत भेटिइन

९ साउन, काठमाडौँ । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । नुवाकोट स्थायी घर भएर काठमाडाैँको तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

निजको खोजी गर्दै जाँदा आज कारको पछाडिको सिटमा जलेको अवस्थामा निजको शव फेला परेको उहाँले जानकारी दिनुभयो । कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर निजको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सीसीटीभी फुटेजमा के छ ?

प्रहरी स्रोतका अनुसार विहान शुक्रबार करिब ७ः४५ बजेतिर रश्मी घटनास्थलमा पुगेको देखिएको छ । उनले आफैँले पेट्रोल बोकेर लगेको र साथमा लाइटर समेत लगेको सीसीटीभीमा देखिएको छ । गाडी बालुवाखानीमा रोकेपछि रश्मि गाडीको पछाडी सिटमा बसे लगत्तै आगोको झिल्को देखिएको छ । प्रहरीले सीसीटीभी फुटेजसहित अन्य विषयमा समेत सोधपुछ गरिरहेको छ ।

प्रकाशित मिति : July 25, 2026 at 9:29 pm