८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सामसुङ इनोभेसन क्याम्पसद्वारा कोडिङ कार्यक्रमका स्नातक सम्मानित, नेपालमा नयाँ एआई कार्यक्रम शुरु

८ साउन, काठमाडाैं। सामसुङ नेपालले डिजिटल प्रतिभा विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै सामसङ इनोभेसन क्याम्पस (Samsung Innovation Campus–SIC) अन्तर्गत सञ्चालित कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ। साथै, कम्पनीले नेपालमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रमका लागि आवेदन खुला गरेको घोषणा गरेको छ।

डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको कोडिङ तथा प्रोग्रामिङ कोर्सले सहभागी विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक परियोजनामा आधारित सिकाइ तथा उद्योगसँग प्रत्यक्ष परिचय गराएको थियो। कार्यक्रम सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरूलाई विशेष समारोहबीच सम्मान गरिएको सामसङ नेपालले जनाएको छ।

सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपालको युवा पुस्तामा उल्लेखनीय क्षमता रहेको उल्लेख गर्दै एआईको बढ्दो प्रभावका कारण डिजिटल सीपको आवश्यकता झन् बढ्दै गएको बताए। उनले सामसङ इनोभेसन क्याम्पसमार्फत युवाहरूलाई आवश्यक प्राविधिक ज्ञान, आत्मविश्वास र नवप्रवर्तनशील सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सामसुङको विश्वव्यापी सामाजिक उत्तरदायित्व अभियान “Together for Tomorrow! Enabling People” अन्तर्गत सन् २०२३ मा नेपालमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले उदीयमान प्रविधिमा उद्योगसँग सम्बन्धित सीप विकास गराउँदै सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता कार्यस्थलमा आवश्यक दक्षता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

कम्पनीका अनुसार नयाँ एआई कार्यक्रम उद्योगको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै तयार गरिएको हो। व्यावहारिक सिकाइ तथा वास्तविक समस्या समाधानमा आधारित पाठ्यक्रमले सहभागीहरूलाई एआईसम्बन्धी ज्ञान र सीप प्रदान गर्दै नवप्रवर्तन प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सामसुङ नेपालले कार्यक्रमका स्नातकहरूलाई भविष्यमा पनि मेन्टरसिप, नवप्रवर्तन परियोजना तथा करियर मार्गदर्शनमार्फत निरन्तर सहयोग गर्ने जनाएको छ। यसका साथै, स्नातकहरूबीच नेटवर्किङ, अनुभव आदान–प्रदान र भावी सहभागीलाई मार्गदर्शन गर्ने उद्देश्यले ‘सामसुङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने योजना पनि सार्वजनिक गरेको छ।

कम्पनीले नेपालको एआई इकोसिस्टम सुदृढ बनाउन, रोजगारीका अवसर विस्तार गर्न तथा डिजिटल रूपान्तरणलाई गति दिन शैक्षिक संस्था, निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति : July 24, 2026 at 5:13 pm