नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
७ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघेकाे छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हाे ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबर थियो। समीक्षा अवधिमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो।

यसैगरी, गत आर्थिक वर्षमा नेपालको निर्यात १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड चार लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।
नेपालको व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा व्यापार घाटा १७ खर्ब ८१ अर्ब आठ करोड ८५ लाख रुपैयाँ पुगेको विभागको तथ्यांक छ। अघिल्लो आर्थिक वर्षमा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : July 23, 2026 at 4:19 pm





