प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
५ साउन, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अर्को मुद्दा दायर गरेको छ । उनीविरुद्ध अख्तियारले मंगलबार भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले अधिकारीमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी सहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो । अख्तियारको आरोपपत्र अनुसार, महानिर्देशक पदमा रहँदा अधिकारीले प्राधिकरणबाट सञ्चालित विभिन्न ठेक्कापट्टाको स्वीकृति, रेखदेख र भुक्तानीमा सहजीकरण गरिदिए बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिएका थिए। उक्त घुसको रकम लुकाउन अधिकारीले गैरकानुनी स्रोतलाई वैध देखाउने नियतले श्रीमतीको नाममा १३ आना जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

अधिकारीले उक्त जग्गा खरिद गर्दा सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्रै थैली रकम कायम गरी वास्तविक कारोबारको रकम लुकाएको अख्तियारको दाबी छ। बाँकी रहेको १ करोड ७१ लाख रुपैयाँ भने ठेकेदार कम्पनी र त्यसका सञ्चालकबाट घुसबापत प्राप्त गरी श्रीमतीको बैंक खातामार्फत कारोबार देखाएर सम्पत्ति शुद्धीकरण गरेको आयोगले जनाएकाे छ ।
प्रकाशित मिति : July 21, 2026 at 6:10 pm





