प्रश्नपत्र चुहावट विवादले भारतमा युवा आन्दोलन उग्र, संसद् घेराउको चेतावनी
४ साउन, नयाँदिल्ली । प्रश्नपत्र चुहावट र शिक्षा प्रणाली सुधारको माग गर्दै भारतमा युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन चर्किएको छ। प्रहरीको अनुमति नपाए पनि हजारौँ प्रदर्शनकारी सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले राजधानी नयाँदिल्लीमा भेला भएका छन्।
राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् भवन आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीहरूले अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले लाउडस्पीकरमार्फत उनीहरूलाई तितरबितर हुन आग्रह गरेको छ।
प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशामा आबद्ध व्यक्ति तथा परिवारसहितका सर्वसाधारण सहभागी भएका छन्। उनीहरूले भारतीय झण्डा बोकेर शिक्षामन्त्री धर्मेन्द्र प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन्।
‘कक्रोच जनता पार्टी’ नामबाट परिचित यो आन्दोलन मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेपछि सुरु भएको हो। प्रदर्शनकारीहरूले उक्त टिप्पणीलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई देशव्यापी बनाएका छन्।
मेडिकल कलेज तथा सरकारी सेवाका प्रवेश परीक्षाको प्रश्नपत्र पटक–पटक चुहिएको घटनाले युवाहरूमा असन्तुष्टि बढाएको छ। शनिबार अनशनरत अभियन्ता सोनम वाङचुकलाई प्रहरीले अस्पताल लगेको घटनापछि आन्दोलनप्रति थप समर्थन जुटेको बताइएको छ।
प्रदर्शनकारीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा धर्नामा बसेका छन्। उनीहरूले शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा व्यापक सुधार तथा प्रश्नपत्र चुहिएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।
वाङचुकले सरकारले शिक्षा प्रणाली सुधारका लागि ठोस प्रतिबद्धता जनाए वा प्रदर्शनकारीलाई संसद्सम्म पुग्न दिएर सांसदहरूले यी मुद्दा संसद्मा उठाउने सुनिश्चित गरेमा मात्र आफ्नो करिब तीन सातादेखिको अनशन अन्त्य गर्ने बताएका छन्।
दिल्ली प्रहरीले भने संसद्को मनसुन अधिवेशन जारी रहेकाले सुरक्षा कारण देखाउँदै मार्चको अनुमति नदिइएको जनाएको छ। प्रधानमन्त्री मोदी नेतृत्वको सरकारका लागि यो आन्दोलन सार्वजनिक रूपमा देखिएको दुर्लभ चुनौतीका रूपमा हेरिएको छ। विपक्षी दल, नागरिक अधिकारकर्मी तथा केही बलिउड कलाकारहरूले पनि आन्दोलनप्रति समर्थन जनाएका छन्।
यद्यपि सरकारका वरिष्ठ मन्त्रीहरूले आन्दोलनप्रति कडा धारणा व्यक्त गरेका छन्। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रदर्शनकारीमाथि राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् भने अन्य मन्त्रीहरूले विद्यार्थीहरूको चिन्ता जायज भए पनि आन्दोलनसँग वार्ताको आवश्यकता नरहेको बताएका छन्।
प्रदर्शनमा सहभागी योग प्रशिक्षक ज्योति राजपुतले शिक्षा प्रणाली सुधारका लागि आफू आन्दोलनमा सहभागी भएको बताउँदै सरकार विद्यार्थीहरूको पीडाप्रति संवेदनशील नभएको आरोप लगाइन्।
प्रकाशित मिति : July 20, 2026 at 12:07 pm





