७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

नेविसंघका नेता कांग्रेस पदाधिकारीकाे निर्देशनमा मुख्यालयमै कुटिए, गुण्डा लगाएकाे आराेप

१२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघका दुई गुटबीच झडप हुँदा नेपाली कांग्रेसको सानेपास्थित मुख्यालय तनावग्रस्त भएको छ। कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दुई समूहको झडप नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त भएको हो।

झडपमा नेता कृष्ण सिटौला र अर्जुननरसिंह केसी पक्षका विद्यार्थी नेताहरू दीपेन्द्र क्षेत्री, अर्पण खड्का, सुबोध ओली, माधव भण्डारी, प्रदीपजंग शाह लगायत घाइते भएका छन् । निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहका विद्यार्थी नेताहरूले उमेर हदको पक्षमा र संस्थापन पक्षले उमेर हदको विपक्षमा प्रदर्शन गरिरहँदा नेता कृष्ण सिटौला पार्टी कार्यालय पुगेका थिए ।

सिटौला चढेको गाडीलाई प्रकाशशरण महत समूहका बिद्यार्थी नेताहरुले बिद्यार्थी नभई गुण्डा लगायर रोक्न खोजेका थिए। त्यसको प्रतिरोधमा उत्रिएका सिटौला पक्षका विद्यार्थी नेताहरुमाथि संस्थापन पक्षबाट हेल्मेट प्रहार भएपछि झडप भएको हो । पीडित नेताहरुले पार्टी नेतृत्वले गुण्डा परिचालन गरेर आफूहरुमाथि आक्रमण गरेकाे बताएका छन ।

महत समूहका विद्यार्थी नेताले बिद्यार्थीहरु माथि नै ढुङ्गा हान्न थालेपछि झडप सुरु भएकाे नेताहरूले बताएका छन। नेवि संघमा ३२ वर्षको उमेर हदबन्दी लागु गर्न माग गर्दै सिटौला पक्षका विद्यार्थीहरु प्रदर्शन र धर्ना गरिरहेका छन् । यसअघि, फागुन ९ गते उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महत र सिटाैला पक्षका विद्यार्थी समूहबीच भनाभन र हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

प्रकाशित मिति : 17:36