नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना
३० असार काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
मंगलबार सजाय निर्धारणका लागि भएको सुनुवाइपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई विभिन्न कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

फैसलाअनुसार खाणलाई ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै थप ३ महिनाको कैद सजाय पनि निर्धारण गरिएको अदालतको फैसलामा उल्लेख छ।
यद्यपि, एकीकृत सजायको व्यवस्था अनुसार सबैभन्दा बढी सजाय भएको कसुरका आधारमा उनलाई अन्तिम रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना मात्रै कार्यान्वयन हुने भएको छ।
यसअघि असार २४ गते न्यायाधीश खड्काकै इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनाले सफाइ पाएका थिए। मंगलबार सोही फैसलाअनुसार दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण गरिएको हो।
प्रकाशित मिति : July 14, 2026 at 8:52 pm





