२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पत्रकार महासंघको सभासद् चयनको व्यवस्था खारेज, केन्द्र, प्रदेश र शाखाको निर्वाचन एकैदिन हुने

११ फागुन, कास्की । नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको जनाएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ ।

विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सभामा प्रस्तुत विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा एकजना महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने गरी संशोधनसहित सर्वसम्मतरुपमा पारित भएको बताए ।

नौ वर्षअघि नेपालगञ्ज, त्यसपछि पोखरा र चितवनमा गरी तीनवटा साधारणसभामा विधान संशोधनको प्रस्ताव सफल नभए पनि यसपटक पोखरामा संशोधन हुनु महासङ्घको इतिहासमा बिरलैमध्येको घटना भएकोे अध्यक्ष आचार्यले बताए । उनले भने “पोखराको यस अधिवेशन ऐतिहासिक र नमूनायोग्य भएको छ । साधारणसभाको मूल भावनाअनुसार विधानमा व्यवस्था हुन्छ । अब महासङ्घ आफ्ना मुद्दामा केन्द्रित रहन्छ ।”

स्थानीय व्यवस्थापन समितिका संयोजक एवं महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले केन्द्रले कास्की शाखालाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न पाउँदा गौरवको अनुभूति भएको बताए । महासङ्घको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रश्ताव पारित गर्दै शुक्रबार साँझ सम्पन्न भएको थियो ।

संशोधित नयाँ व्यवस्था अनुसार यसखघिको सभासद् चयनको पक्रिया खारेज भएको छ । अब एकै दिन देशैभर तीन वटा मतसहितको निर्वाचन हुनेछ । महासंघको विधानसभामा राजनीतिक दलका पत्रकार सहभागी भ्रातृ संगठनहरूले बिधानमा पहिल्य नै सहमति गरेका कारण हलमा भने खासै उत्साहजनक उपस्थिति देखिएको थिएन ।

प्रकाशित मिति : 16:54