एपीएफ स्कुलको ११ करोड हिनामिना गरेको आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
२१ असार, काठमाडौं । कीर्तिपुरस्थित एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्स्पेक्टर कल्पना गुरुङ र उनकी साथी लीला लामा रहेकी छिन् ।
विद्यालयमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर गुरुङ र उनका साथी लामा मिलेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले कानुन शाखाका डीआइजी युवराज अर्यालको नेतृत्वमा सो सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा कल्पनाले आफ्नो साथीको बैंक खातामा रकम ट्रान्सफर गरेर अपचलन गरेको उल्लेख छ । त्यसपछि केही समय रकम फिर्ताका लागि समय दिइए पनि रकम फिर्ता नभएपछि सशस्त्र प्रहरीकै पत्रका आधारमा इन्स्पेक्टर गुरुङ र रकम चलाउने लामालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सशस्त्रकै पत्रका आधारमा शनिवार विद्यालयमा लेखापाल रहेकी इन्स्पेक्टर गुरुङ र उनका साथी लीला लामालाई पक्राउ गरेको हो ।इन्स्पेक्टर गुरुङले विद्यालयको रकम सशस्त्र प्रहरी कल्याण कोषमा नपठाई पटक(पटक व्यक्तिगत खातामा ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी साढे ६ वर्षदेखि सो स्कुलको लेखा अधिकृतको जिम्मेवारीमा थिइन् । छानबिनका क्रममा उनले करिब ४ वर्षदेखि स्कुलको ११ करोड रुपैयाँ विभिन्न मितिहरूमा साथीको बैंक खातामा पठाएको खुलेको थियो ।
प्रकाशित मिति : July 5, 2026 at 9:21 am





