प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने अवधि लम्बियो
१९ असार, काठमाडाैं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको हाे। बैंकको १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिनेछ।
यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने बैंकले जनाएको छ। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : July 3, 2026 at 9:12 am






