कपडा भन्दै अमेरिका पठाउन लागिएको बाकसमा भेटियो सुनका गहना, कार्गोका दुई सञ्चालक पक्राउ
१८ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौछका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् ।
असार १६ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनफिस्ट न. एएमएस एपी ३२१ मा जुत्ता, पाइन्ट, साडी लगायतका कपडाहरु भएको कार्गो बाकसबाट ठूलो मात्रामा सुनका गरहना बरामद भएका हुन् ।

यी सामानहरु युनिक कार्गो र एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको थियो । उक्त बाक्साबाट २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल ब्रोच १८ थान, डलब ब्रोच १८ थान, शिरफुलो ठूलो ५ थान, शिरफुल सानो २ थान, नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी ब्रोचको आकार २३ थान, मंगलसुत्र १८ थान, मोतिमाला ३९ थान, रानिहार १ थान, त्रिशुल १ थान, नेक्लेस गोलावा ४ थान, नेक्लेस चारपाटे ९ थान, काँडावाला चुरा २६ थान, यार्लिङ सहितको शिरबन्दी ३ सेट, झुम्का ३ जोर, तिलहरी ४ थान र सिक्री १ थान बराद भएको छ ।
उक्त सामान युनिक कार्गोले एपेक्समार्फत अमेरिका पठाउन लागेको खुलेपछि दुबै कम्पनीका सञ्चालकलाई नियन्त्रणमा लिए अनुसन्धान अघि बढाएको हो। अनुसन्धानका लागि दुबै जनालाई विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ।
प्रकाशित मिति : July 2, 2026 at 12:01 pm









