१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

सस्मितको सल्लाहकारमा अमेरिकी विदेश मन्त्रालयको फेलो शैलेन्द्र झा

१७ असार, काठमाडौँ  । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन । शिक्षामन्त्री सस्मित पोखरेलले नियुक्तिपत्र हस्तान्तरण गरेर सचिवालय मार्फत त्यसको सार्वजनिक जानकारी दिएका छन ।

झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिप (Hubert H. Humphrey Fellowship २०२५-२६) अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा रहेका छन । उक्त कार्यक्रममार्फत झाले शिक्षा, नेतृत्व, सार्वजनिक नीति तथा सुशासनका विषयमा अध्ययनसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरिरहेको शिक्षा मन्त्रालयले दाबी गरेको छ ।

यसअघि झा काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत थिए ।


शिक्षा तथा खेलकुद मन्त्रालयमा सल्लाहकारका रूपमा झाको नियुक्तिसँगै विद्यालय शिक्षा सुधार, सीपमूलक शिक्षा विस्तार, डिजिटल शिक्षा, अनुसन्धानमा आधारित नीति निर्माण तथा शिक्षा क्षेत्रमा नवीन सोच र प्रभावकारी कार्यान्वयनलाई थप गति मिल्ने अपेक्षा मन्त्रीको सचिवालयले गरेको छ ।

प्रकाशित मिति : July 1, 2026 at 6:57 pm