२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

अब छिट्टै हाम्रा आमाहरूले पनि कार चलाएर हिँड्ने दिन आउँछ: मन्त्री अर्याल

१० फागुन, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब आमाहरूले पनि कार चलाएर हिँड्ने दिन छिट्टै आउने बताएकी छन् । अखिल नेपाल महिला संघ केन्द्रीय महिला हिंसा विरुद्धको अभियान र केन्द्रीय युवा समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ’लैंगिक हिंसा अन्त्यको लागि विद्यमान कानुनी व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।


महिलाहरू आर्थिक रूपमा सशक्तिकरण हुने अभियान सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले आर्थिक सशक्तीकरण अबको महिला आन्दोलनको दिशा हुनुपर्ने पनि बताइन् । आयआर्जन र आत्मनिर्भर बनाउदै अबको महिला आन्दोलन अगाडि बढाउनुपर्ने र त्यसका निम्ति ठूलो अभियानको आवश्यकता रहेको मन्त्री अर्यालको भनाई छ । ‘महिलालाई सम्पत्तिको मालिक कसरी बनाउने भन्नेतर्फ ध्यान जानुपर्छ । अब हाम्रा आमाले कार चलाउँछन्, उद्यम चलाउँछन् । साना उद्योग,व्यापार चलाउछन्’, मन्त्री अर्यालले बताइन् ।

महिलाहरूलाइ सीप सिकाउँदै, उत्पादन, उद्यमशीलतामा जोड्दै आर्थिक सशक्तीकरणको अभियानमा लगाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यो अभियान सामुहिकतामा सहकारीमार्फत गर्नुपर्ने समेत बताइन् । ‘प्रत्येक घरबाट सहकारीको सदस्य बनाउने र सामुहिकतामा हाम्रा ठाउँको सम्भावना पहिचान गर्दै उद्यमशीलतामा जोड्ने र आर्थिक आयआर्जन गर्ने अभियान सञ्चालन गर्नुपर्छ’, उनले भनिन्,’ कम लगानीमा पनि उत्पादन गर्न,उद्यमशीलता चलाउन सकिन्छ र त्यो सहकारीमार्फत सामूहिकतामा गर्न सकिन्छ ।’

मन्त्री अर्यालले नियतबस सरकार असफल बनाउने प्रयत्नविरुद्ध बोल्न आग्रह गर्दै पाँच वर्षमा यो सरकारले केही उथलपुथल ल्याउने दाबी गरिन् ।

प्रकाशित मिति : 17:57