१३ वर्षपछि बैंकिङ कसूरका फरार प्रतिवादी सविता कार्की पक्राउ
९ असार, काठमाडौं । बैंकिङ कसूर मुद्दामा विगत १३ वर्षदेखि फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्की रहेकी छिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को विशेष टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका वडा नं. ४ काठमाडौंबाट पक्राउ गरेको हो । कार्कीले चारित्रिक बिल्डर्स प्रालिको नाममा कम्पनी दर्ता गरी बनावटी कागजात तयार पारेकी थिइन्। हाउजिङ तथा निर्माण कार्य गर्ने भन्दै कृत्रिम व्यावसायिक परियोजना खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर कर्जा स्वीकृत गराएकी थिइन् । तर, उक्त कर्जा सम्बन्धित परियोजनामा लगानी नगरी दुरुपयोग गरेको अभियोगमा उनीविरुद्ध बैंकिङ कसूर मुद्दा दर्ता भएको थियो।

साविक पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते गरेको फैसलाबाट कार्कीलाई तीन वर्ष कैद तथा ८ करोड ५० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। तर फैसला कार्यान्वयन हुन नसकी उनी फरार रहँदै आएकी थिइन्।
फरार प्रतिवादीको खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले उनलाई असार ९ गते पक्राउ गरेको हो। पक्राउ परेकी कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : June 23, 2026 at 5:56 pm









