७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जेनेभामा अमेरिका-इरान वार्ता सुरु हुँदै, मध्यपूर्व तनाव उत्कर्षमा

७ काठमाडौं, जेनेभा । मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीचको नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ। इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गरेका छन्।

वार्तामा इरानको आणविक कार्यक्रम, लेबनानमा जारी द्वन्द्व र युद्धविराम कार्यान्वयन प्रमुख एजेन्डा रहने जनाइएको छ। युरोप प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले वार्ताबाट प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् ।

गत शुक्रबार हुने तय गरिएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा गरेको घातक आक्रमणपछि अन्तिम समयमा स्थगित भएको थियो। उक्त आक्रमणमा इजरायली सेनाका चार सदस्यको मृत्यु भएको जनाइएको छ।

यसैबीच, अमेरिका र इरानबीचको प्रारम्भिक समझदारीपछि घोषणा गरिएको युद्धविराम पुनः प्रभावित भएको छ। अमेरिकाले लेबनानमा युद्धविराम पुनः लागू भएको जनाएको भए पनि शनिबार इजरायली सेना र हिज्बुल्लाहबीच झडप भएको छ। दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन्।

इरानले इजरायलले लेबनानमा निरन्तर आक्रमण गरेको आरोप लगाउँदै विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’मा जहाज आवागमन पुनः रोक्ने घोषणा गरेको छ। यसअघि प्रारम्भिक सम्झौतापछि उक्त मार्ग खुला गरिएको थियो।

इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिका सम्झौताको पालना नगरेको र इजरायलले लेबनानमा युद्धविराम उल्लङ्घन जारी राखेको दाबी गरेको छ। यता अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन कायम रहेको र अमेरिकी सेना उच्च सतर्कतामा रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबाट सहमति ननिस्किए हर्मुजमार्फत हुने आवागमनमा शुल्क प्रणाली लागू गर्न सकिने चेतावनी दिएका छन् ।

dainiki.com

वार्तामा इरानी प्रतिनिधिमण्डलमा संसद् सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी छन्। अमेरिकी पक्षबाट जारेड कुशनर र स्टिभ विटकफ प्राविधिक छलफलमा संलग्न रहेको जनाइएको छ।

मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीर पनि उच्चस्तरीय वार्ताका लागि जेनेभा पुगेका छन्। वार्ताको मुख्य उद्देश्य प्रारम्भिक सहमतिबाट बाँकी रहेका विवाद, विशेषगरी इरानको आणविक कार्यक्रम समाधानतर्फ केन्द्रित रहेको बताइएको छ।

यसैबीच, दक्षिणी लेबनानमा इजरायल र हिज्बुल्लाहबीच तनाव कायमै छ। पछिल्ला झडपमा एक इजरायली सैनिकको मृत्यु भएको छ। युद्धविरामपछि हालसम्म पाँच इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

इजरायली सेनाले हिज्बुल्लाहले आफ्ना सैनिकमाथि ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ भने हिज्बुल्लाहले इजरायलले घुसपैठ प्रयास गरेपछि प्रतिकार गरेको दाबी गरेको छ।

लेबनानी सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्ला हवाई आक्रमणमा करिब २० स्थान प्रभावित भएका छन् भने ३० भन्दा बढीको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार नाघिसकेको छ।

दुवै पक्षले युद्धविराम उल्लङ्घनको दोष एकअर्कामाथि लगाउँदै आएका छन्। दक्षिणी लेबनानका विस्थापित बासिन्दाले क्षेत्रमा अझै त्रास कायम रहेको बताएका छन्।

प्रकाशित मिति : June 21, 2026 at 12:48 pm