५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

विपद् पूर्व तयारीमा सशस्त्र प्रहरी बल : तीन महिनामा सात विपद् व्यवस्थापन वेश स्थापना

५ असार, काठमाडौँ । डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन वेश स्थापना भएको छ । बेशको सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले असार ४ गते उद्घाटन गर्नुभएको हो ।

डोटीको सदरमुकाम सिलगढीबाट करीव १ सय ३५ किलोमिटर पश्चिम दक्षिणतर्फ स्थापना भएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ । यो सँगै सशस्त्र प्रहरी बल नेपालमा विपद् व्यवस्थापन वेशको संख्या १६ वटा पुगेको छ । जसमध्ये कोशी प्रदेशमा २, मधेश प्रदेशमा २, बाग्मती प्रदेशमा ४, गण्डकी प्रदेशमा २, लुम्बिनीमा प्रदेश १, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ वटा विपद् व्यवस्थापन वेश स्थापना गरिएको छ ।

सशस्त्र प्रहरीले २०८३ साल बैशाख महिनामा चतरा  सुनसरी, भारदह सप्तरी, भकुण्डेवेशी काभ्रे, आरुघाट गोरखा, बालडाडा जुम्ला र डुडेझरी कैलालीमा विपद् व्यवस्थापन वेश स्थापना गरिसकेको छ ।

सशस्त्र प्रहरी बल नेपालले यसअघि मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, खुर्कोट सिन्धुली, कुुलेखानी मकवानपुर, नारच्याङ म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा विपद् व्यवस्थापन बेश स्थापना गरिसकेको छ ।

स्थापना भएका वेशहरुमध्ये सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङमा सशस्त्र प्रहरीको गोताखोर तैनाथ छन्  भने अन्य बेशमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : June 19, 2026 at 12:17 pm