२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

कञ्चनपुरकाे विद्यालयमा किन तोडफोड गरिन् एक महिलाले

९ फागुन,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रहेको अनुपम एजुकेशनल एकेडमीमा बुधबार दिउँसो छिरेकी एक महिलाले तोडफोड गरेकी छिन् । छयालीस वर्षीया चम्फा विष्टले विद्यालयको कार्यालय कक्षमा तोडफोड गर्दा रु चार लाख बढीको क्षति भएको छ । विद्यालयको कार्यालय कक्षमा राखिएका दुई थान कम्प्युटर, प्रिन्टर, दराज, ल्यापटप, साउण्ड सिस्टम, खेलकूदका सामग्री, प्रयोगशालाका सामग्री, कुर्सी र टेबल तोडफोड गरेको विद्यालय सञ्चालक मदनराज जोशीले बताउनुभयो ।

महिलाले विद्यालय रहेको जग्गा मेरो रहेको भन्दै कार्यालय कक्षमा छिरेर तोडफोड गरेको जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला विद्यालयमा पढने विद्यार्थीको अभिभावक होला भनेर सोचेका थियौँ, केही गुनासो राख्न आउनुभएको होला भनेर कुरा सुन्यौँ । विद्यालय रहेको जग्गा नै आफ्नो भएको दाबी गर्दै तोडफोड गर्न थालेपछि प्रहरी बोलाएर नियन्त्रणमा राख्न लगाएका छौँ ।”

विद्यालयमा तोडफोड गर्ने महिलालाई हिरासतमा राखेर अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।

प्रकाशित मिति : 12:52