१ असार २०८३, सोमबार | Mon Jun 15 2026

विप्लवको नाममा पोखरामा आतंक : फिरौती माग्ने हिरासतमा, पत्रकार कै भूमिकामा प्रश्न

१ असार, पोखरा । पर्यटकीय नगरी पोखरा यतिबेला एउटा गम्भीर र डरलाग्दो आपराधिक सञ्जालको चंगुलमा फसेको खुलासा भएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरी शान्तिपुर्ण राजनीतिमा आएको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नाममा पोखरामा फेरी आतंक शुरु भएको छ ।

राजनीतिक शक्तिको फेरो समातेर पोखराका स्थापित व्यवसायी, शैक्षिक संस्था, अस्पताल र सार्वजनिक सम्पत्तिमाथि लगातार भइरहेका क्रूर डकैती, आगजनी, अपहरण र फिरौती असुलीको एउटा लामो र संगठित फेहरिस्त फेला परेको छ ।

गएको जेठ ९ गते साँझ लेकसाइडस्थित होटल र ‘फ्रेस इलिमेन्ट्स’ रेष्टुरेण्टका सञ्चालक ५४ वर्षीय रामचन्द्र कार्कीसँग २५ लाख फिरौती माग्ने क्रममा मुख्य अभियुक्त प्रकाश बास्तोला (बिरौटा निवासी) वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा परेपछि यो गिरोहको आपराधिक साम्राज्यको दैलो उघ्रिएको हो । वास्तोलालाई अहिले प्रहरी हिरासतमा छन् । उनीमाथिको अनुसन्धान सम्पन्न भएपछि प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

के भएको थियो त्यो साँझ

मिति २०८३ साल जेठ ९ गते साँझ अन्दाजी ८ः०० बजे प्रकाश बास्तोला र उनका साथीहरू व्यवसायी रामचन्द्र कार्कीको होटल कम्पाउण्डमा प्रवेश गर्छन् । आफूलाई विप्लव समूहको कार्यकर्ता चिनाउँदै उनीहरूले सिधै २५ लाख रुपैयाँको ‘चन्दा’ (फिरौती) माग गर्छन् । व्यवसायीले असमर्थता जनाउनासाथ बास्तोलाले मोबाइल (नम्बर ९८५६०५१२९३) निकालेर एउटा स्वचालित बन्दुक र रगत लतपतिएको विभत्स लासको फोटो देखाउँदै भन्छन्— “हाम्रो कुरा सुनिस् भने तेरो र तेरो परिवारको हालत यस्तै हुन्छ ।’

तर्साउने क्रम यतिमा रोकिँदैन। बास्तोलाले घमण्डका साथ प्रहरी प्रशासनलाई चुनौती दिँदै भनेका थिएः “मविरुद्ध पहिले नै २२ वटा मुद्दा दर्ता छन्, एउटा मुद्दाले केही गर्दैन । प्रहरी महानिरीक्षक दानबहादुर कार्की सरमाथि समेत बम प्रहार गर्ने र प्रहरीलाई सजाय दिने मै हुँ । मेरो घरमा अझै ७ वटा बम तयारी अवस्थामा छन् ।’

व्यवसायीको परिवार र बच्चाको रेकी (निगरानी) समेत गरिसकेको भन्दै बम हानेर सखाप पार्ने धम्की दिएर यो गिरोह निस्किन्छ र लगत्तै कार्कीकै अर्को रेष्टुरेण्ट फ्रेस ईलेमेन्ट्समा पुगेर फेरि धम्क्याउन थाल्छ । तर व्यवसायी र स्टाफको चलाखी तथा प्रहरीको तत्कालको एक्सनका कारण बास्तोला घटनास्थलबाटै रङ्गेहात समातिन्छन् । हाल यो मुद्दालाई अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल समक्ष अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

अभियुक्त छुटाउन पत्रकारकै भूमिका ?

प्रहरी हिरासतमा रहेका प्रकाश बास्तोलालाई छुटाउन आफूलाई पत्रकार भन्ने एक व्यक्तिको भूमिका समेत प्रहरी निगरानीमा परेको छ । पोखराको प्रतिष्ठित अनलाइनका सम्पादक रहेका उनले पीडितलाई भेटेर मुद्दा मिलाउन दबाव दिएको सिसिटिभी फूटेज समेत प्राप्त भएको छ ।

अभियुक्त वास्तोला र पत्रकारबीच बीचको मिलेमतोमा विभिन्न आपराधिक घटनाहरु घटाइएको समेत पाइएको छ । सोही घटनासँग सम्बन्धित अभियुक्तलाई बचाउने कोशिसमा लागेका ती पत्रकार विरुद्ध अहिले प्रेस काउन्सिल नेपालले कारबाही शुरु गरेको छ ।

प्रहरी कार्यालयमा कार्कीका भाइ जनकले दिएको जाहेरीको विवरण यस्तो छ

म जाहेरवालाको दाई बर्ष ५४ को रामचन्द्र कार्की लेकसाईड स्थितमा होटल व्यवसाय गर्दै आईरहनु भएको छ, यस्तैमा मिति २०८३।०२।०९ गते साँझ अन्दाजी २०:०० बजेको समयमा म जाहेरवालाको दाई आफ्नै घर होटेलमा रहे बसेको अवस्थामा दुई जना युवाहरू आएका रहेछन्, तिनीहरूले आफूलाई “विप्लव समूह” (नेकपा) को कार्यकर्ता भनी परीचय दिएछन् तिनीहरू मध्ये मुख्य रूपमा धम्क्याउने, थर्काउने र फिरौती स्वरुप रकम माग गर्ने व्यक्तिको नाम प्रकाश बास्तोला रहेछ, निजले प्रयोग गर्ने मोबाइल नम्बर +९७७ ९८५६०५१२९३ रहेको बुझिन आएको छ, निज प्रकाश बास्तोला र उनका साथीले म सँग विना कारण रु २५,००,०००।- (अक्षरेपि पच्चिस लाख रुपैयाँ) को माग गरेका रहेछन्, निजहरुले माग गरेको रकम दाईले दिन असमर्थता जनाउँदा निज प्रकाश वास्तोलाले तत्काल आफ्नो मोवाईल फोन निकालेर  दाईलाई एउटा स्वचालित हतियार (बन्दुक) हो भनी फोटो देखाए र पच्चिस लाख रुपैंयाँ त्यही बन्दुक किन्नका लागी चाहिएको हो भन्दै मलाई तुरुन्त रकम बुझाउन दबाब दिएका थिए, यती मात्र नभई मलाई मानसिक रुपमा पुर्ण रुपमा त्रसित पार्नका लागि निजले आफ्नो मोवाईलमा एउटा मानिसको रगत लतपत भएको बिभत्स फोटो समेत देखाउँदै हाम्रो कुरा नसुन्नेको हालत यस्तै हुन्छ, भनी प्रत्यक्ष ज्यानमार्ने धम्की समेत दिएका रहेछन्, कुराकानीकै क्रममा निजहरुले आफुहरुले धेरै ठाँउमा बम बिष्फोट गराई सकेको र आफ्नै घरमा सात वटा बम बनाएर राखेको कुरा समेत गर्भका साथ थपेका रहेछन् ।

तिमिहरुले प्रहरी प्रशासनलाई समेत चुनौती दिंदै तिमिले नेता प्रहरीलाई घुस खुवाउने कुरा गरेकोमा प्रतिबाद गरे म बिरुद्ध पहिला २२ वटा मुद्दा दर्ता भएका छन् १ वटा मुद्दाले केही गर्दैन आफुले प्रहरी महानिरीक्षक दान बहादुर कार्की सर माथि समेत बम प्रहार गरेको र प्रहरीलाई सजाय दिएको गम्भिर दावी गरे । झूट्टा भ्रामक आरोपहरु लगाए, तर्साउन लागि पहिल्यै देखी तीनीहरुले दाईको परिवार र बच्चाको समेत रेकी (निगरानी) गरि रहेको प्रमाण रहेको रकम नदिएमा दाईको घरमा बम पड्काएर स-परिवारलाई सखाप पारी दिने धम्की दिएर गएका छन, उल्लेखित मिति समयमा प्रतिबादीले ज्यानमार्ने सम्मको  डरधाक धम्की दिई हातहतियारको फोटो समेत देखाई  रकम नदिएमा बम हानी सखाप पार्ने सम्मको धम्की दिई दाई लगायत दाईको स-परिवारको सुरक्षामा असर पुग्ने गरी होटेल कम्पाउण्डबाट बाहिर निस्कन नदिई फिरौती रकम माग गरी फिरौती रकम नदिएमा ज्यानैमार्ने दिई मोबाईलमा हतियारको फोटो र रगत लतपत भएको बिभत्स फोटो समेत देखाउदै यस्तै हालत बनाई दिन्छु भनी धम्की दिई निस्केका र पुनः सोही नजिकै रहेको दाई राम चन्द्र कार्कीले संचालन गर्दै आएको Fresh Elements रेष्टुरेण्टमा आई निजै दाईलाई सोही प्रकारले धाक धम्की दिई फिरौती रकम माग गरेकाले दाईले हार गुहार गरी रेष्टुरेण्टका स्टाफ र प्रहरी समेतलाई खवर गर्नु भएको रहेछ, सो को केही समय प्रहरी टोली आई पुगेपछी निजलाई नियन्त्रणमा लिई गएका रहेछन्, यसरी मेरो दाई र दाईको परिवार समेतलाई खतम पारी दिन्छु भनी धम्क्याई मोबाईलमा हतियारको फोटो र रगत लतपत भएको बिभत्स फोटो समेत देखाउदै यस्तै हालत बनाई दिन्छु भनी फिरौती रकम माग गरी रकम नदिएमा ज्यानै लिने सम्मको धम्की दिई हातको प्रयास गरी अभद्र व्यवहार गरेको हुँदा हाल भाउजु बिरामी भई उपचारको लागि दाई रामचन्द्र कार्की पोखरा वाहिर जानु भएकोले घटनाको वारेमा दाईसंग बुझी भएको व्यहोरा उल्लेख गरी यो जाहेरी दरखास्त लिई उपस्थित भएको छु, निज अभियुक्त प्रकाश बास्तोला र अन्य संलग्न व्यक्ति भए निजबाटै खुलाई यथाशिघ्र पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी कसूर अन्तरगत हदै सम्मको सजाय गरी पाउँ ।

प्रकाशित मिति : June 15, 2026 at 11:29 pm