१० महिनामा वाणिज्य बैंकहरूको नाफा साढे ५६ अर्बः नबिल अग्रस्थानमा, कुनको कति ?
३१ जेठ, काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले साढे ५६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छ । चालु आवको साउनदेखि वैशाख मसान्तसम्म २० वटा वाणिज्य बैंकले ५६ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोहि अवधिको तुलनामा १८.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले पछिल्लो १० महिनामा ७ अर्ब ६६ करोड ९६ लाख नाफा कमाएकाे छ । त्यस्तै, दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंक रहेकाे छ । याे अवधिमा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएकाे छ ।

समिक्षा अवधिमा कुमारी बैंकले ४ अर्ब ४९ करोड नाफा कमाएकाे छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २१ करोड नाफा कमाएकाे छ । याे अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्ब ८० करोड, एभरेष्ट बैंकको नाफा ३ अर्ब ७० करोड, प्राइम बैंकको ३ अर्ब ४० करोड, एनएमबि बैंकको ३ अर्ब १४ करोड, नेपाल बैंकको २ अर्ब ९८ करोड, सानिमा बैंकको २ अर्ब ६८ करोड, लक्ष्मी सनराइज बैंकको २ अर्ब ४६ करोड, सिद्धार्थ बैंकको २ अर्ब ३८ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब ३५ करोड रुपैयाँ नाफा रहेकाे छ ।
साथै, याे अवधिमा माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८८ करोड, नेपाल एसबिआई बैंकको नाफा १ अर्ब ६८ करोड, कृषि विकास बैंकको नाफा १ अर्ब ५९ करोड, सिटिजन बैंकको नाफा १ अर्ब ४९ करोड र प्रभु बैंकको नाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।
२० वाणिज्य बैंकमध्ये १८ वटाले अर्ब बढी रुपैयाँ नाफा आर्जन गर्दा हिमालयन बैंक र एनआईसी एशिया बैंकले भने करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । हिमालयन बैंकले ८० करोड २८ लाख र एनआईसी एशियाले ३३ करोड नाफा आर्जन गरेका हुन् ।
प्रकाशित मिति : June 14, 2026 at 2:36 pm









