२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

चार करोडको घर एकै पटक घुस खाएका ओलीका पिए बल्ल छानविनको दायरामा

२४ जेठ, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले  गत पुसमा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले चार करोडको घर यतिसमूहसँग घुस खाएको प्रमाणित भएपछि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।

डा मनोजकुमार केसी नेतृत्वको ब्यूरोले पुसमै यो विषय प्रमाणसहित थप कारबाहीका लागि आयोगमा लेखि पठाएको थियो तर प्रेम राई नेतृत्वको आयोगले अनुसन्धानमा आलटाल गरिरहेको थियो ।

पछिल्लो समय प्रधानन्त्री बालेन्द्र शाह बालेनको निर्देशनपछि पेन्डिङ फाइल जिरोमा पुर्याउन अभियान अन्तर्गत अख्तियारले पनि काम सुरू गरेको छ । आयोगले बज्राचार्यको सम्पत्ति अनुसन्धानमा अघि बढ्नु अघि १३ पन्नाको फारम भराएको छ ।

बज्राचार्यमाथि यो कुनै नयाँ अनुसन्धान नभइ पुरानै सिफारिस कार्यान्वयन थालिएको अख्तियार स्रोतले जनाएको छ । केही दिनअघि बज्राचार्यले आयोगमा सम्पत्ति विवरण बुझाएका छन । ब्यूरोको सिफारिस अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले पनि मुद्दा चलाएको थिएन ।

बज्राचार्यले नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा चार करोडको घर घुस खाएको तथ्य ब्यूरोले प्राप्त गरेको थियो । जग्गा लिजमा दिने पक्रियामा तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्य जोडिएका हुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले बज्राचार्यले लिज प्रकरणमा चार करोडको घर घुस खाएको तथ्य फेला पारेको हो ।

प्रहरी स्रोतका अनुसार नेपाल ट्रस्टको जग्गा लिज प्रकरण चलेकै समयमा राजेशको श्रीमती रश्मी शाक्यको नाममा बालकोटमा घरजग्गा खरिद भएको पाइएको छ । उक्त घरको मूल्य करिब चार करोड पर्ने अनुमान प्रहरीको छ । प्रहरीले घरजग्गा खरिदको स्रोत माग गर्दा राजेश र श्रीमतीले त्यसको स्रोत देखाउन नसकेको प्रहरीले जनाएको छ ।

दरबार मार्गको जग्गा लिजमा दिने विवादित निर्णय र रश्मीको घर पास एकै समयमा भएको देखिएको छ । स्रोत खुलाउन नसकेपछि प्रहरीले यो घर यति समूहबाट घुस बापत प्राप्त गरेको निष्कर्ष निकालेको छ ।

dainiki.com

प्रहरीले राजेशको श्रीमतीलाई समेत लिज प्रकरणको मुद्दामा प्रतिवादी बनाउन सिफारिस गरेको थियो । सीआईबीले सङ्गठित अपराधअन्तर्गत अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलकोमा बुझाए पनि राजेश र रश्मी दुबै बचेका थिए । दरबारमार्गको महँगो जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा बदनियतपूर्ण तरिकाले राज्यलाई हानी नोक्सानी पुर्याएको प्रहरीको ठहर छ ।

यस प्रकरणमा सीआईबीले ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की र पूर्वसचिव अर्जुनबहादुर कार्की, जग्गा भाडामा लिने कम्पनीका तर्फबाट लाक्पा सोनाम शेर्पा, घुस वापत घर बुझ्ने रश्मी सबैलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो ।

सरकारी वकिलको कार्यालयले पनि यस मुद्दा संगठित अपराध भन्दा भ्रष्टाचार आकर्षित हुने भन्दै थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग पठाउने निर्णय गरेको थियो । राजेशले पदको दुरूपयोग गरेर व्यापक आर्थिक चलखेल गरेको आरोप यसअघि देखि नै लाग्दै आएको थियो ।

राजेश नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि मुछिएका पात्र हुन । उनी केपीका एकमात्र विश्वास पात्र हुन ।

यो पनि पढ्नुहोस्

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणः केपी ओलीको स्वकीयलाई ४ करोडको घर घुस

प्रकाशित मिति : June 7, 2026 at 11:15 pm