२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

हराएको सिमबाट मोबाइल बैंकिङ चलाएर कसरी भयाे २४ लाख ४७ हजार ठगी ?

२२ जेठ, काठमाडौं । हराएको सिमकार्ड दुरुपयोग गरी २४ लाख  ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय रोशन पहाडी र ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-८ घर भएका २५ वर्षीय सुभाष ओझा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोशनलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट र सुभाषलाई ललितपुर महानगरपालिका-१४ एकान्तकुनाबाट पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा पीडित कान्छी लामाको नाममा २०७० असोज २ गते एउटा सिमकार्ड जारी भएको थियो। लामाले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा खाता खोल्दा सोही मोबाइल नम्बर प्रयोग गरी खाता खोलेर मोबाइल बैंकिङ सेवा सञ्चालन गरिरहेकी थिइन्। तर,उक्त नम्बर प्रयोग गरिरहेकै अवस्थामा उनको सिमकार्ड हराएको पाइएको छ ।

प्रहरीका अनुसार उक्त नम्बर २०७८ चैत १२ गते रोशन पहाडीको नाममा पुनः जारी भएको देखिएको छ। त्यसपछि उक्त सिमकार्ड पुनः सक्रिय भएपछि कान्छी लामाको बैंक खातामा जम्मा भएको रकमको सन्देश पहाडीको मोबाइलमा आउन थालेको खुल्न आएको प्रहरस्ले जनाएकाे छ । त्यसपछि पहाडी र ओझाले मिलेर सोही नम्बर प्रयोग गरी मोबाइल बैंकिङ सेवा पुनः सञ्चालन गरेको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पार्दै पीडितको खातामा रहेको रकम विभिन्न डिजिटल वालेट र बैंक खाताहरूमा स्थानान्तरण गराएको प्रहरीले जनाएको छ। रकम ईसेवा, खल्ती लगायतका माध्यमबाट विभिन्न खातामा पठाई अन्ततः झिक्ने गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरूले मोबाइल बैंकिङको दुरूपयोग गरी २४ लाख ४७ हजार ५ सय २८ रूपैयाँ विभिन्न बैंक एकाउण्ट तथा वालेटहरूमा ट्रान्सफर गरी रकम हिनामिना गरेको समेत खुल्न आएको प्रहरीले जनाएकाे छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : June 5, 2026 at 12:50 pm