सचिव कृष्णहरि पुष्कर पक्राउ
२१ जेठ, काठमाडौँ । सचिव कृष्णहरि पुष्करलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको छ ।
पुष्करलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएर सोधपुछ गरेको हाे। उनलाई काठमाडौँको कपनस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।
केही प्रशासनिक तथा कार्यसम्पादनसँग सम्बन्धित विषयमा जानकारी लिनका लागि उनलाई नियन्त्रणमा लिइएको बताइए पनि उनीमाथि कुन कसूर वा आरोपका आधारमा सोधपुछ गरिएको हो भन्नेबारे प्रहरी अधिकारीहरूले औपचारिक रूपमा कुनै जानकारी दिएका छैनन्।
उनलाई दिउँसो करिब ३ बजे पक्राउ गरेर ७ घण्टापछि राती १० बजे श्रीमतीको जिम्मा लगाएर छाडिएको प्रहरी स्रोतले जानकारी दियो ।
‘माथिबाट आएको निर्देशनअनुसार केही विषयमा उहाँसँग सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएका थियौं। आवश्यक केरकारपछि उहाँलाई छाडिसकेका छौं,’ प्रहरी स्रोतले भन्यो।
उच्च स्रोतले पनि तत्काल कुनै फौजदारी मुद्दा दर्ता गर्ने वा कानुनी कारबाही अघि बढाउने आधार नदेखिएको जनाएको छ।
कृष्णहरि पुष्कर नेपाल सरकारका वरिष्ठ प्रशासक हुन्। तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले २०८२ मंसिर ९ गते अवकाश पाएपछि उनी मुख्यसचिव पदका सम्भावित दाबेदारमध्ये एक मानिएका थिए। तर सरकारले उक्त पदमा सुमनराज अर्याललाई नियुक्त गरेको थियो।
प्रकाशित मिति : June 4, 2026 at 10:53 pm









