बैंकको कर्जा दुरुपयोग गर्ने राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ
२० जेठ, काठमाडौं । नक्कली व्यवसाय खडा गरेर बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा दुरुपयोग गरेको अभियोगमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ९ रातोपुल बस्ने पाण्डेलाई आज धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयास्थित जानकी मेडिकल कलेजको प्रांगणबाट प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–६ मा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गरेर प्रभु बैंकबाट कर्जा लिएको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो ।
सीआईबीले पाण्डेले बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिएको हो, त्यसलाई अन्यत्र प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको जनाएको छ । उनीमाथि नक्कली व्यवसाय खडा गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको आरोप लागेको छ ।
उक्त बैंकिङ कसूरको घटनामा संलग्न पाण्डेलाई पक्राउ गर्न उच्च अदालत पाटन, ललितपुरबाट गत वर्षको २०८२ साल मंसिर २८ गते नै पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त भएको थियो । अदालतबाट अनुमति पाएको लामो समयपछि आज उनलाई धनुषाबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : June 3, 2026 at 5:18 pm









