तारकेश्वर क्षेत्रमा लुटपाटमा संलग्न नुवाकोटका लाक्पासहित चार जना पक्राउ
१८ जेठ, काठमाडौं । काठमाडौंको तार्केश्वर क्षेत्रमा एक महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने तथा उक्त सिक्री बिक्री गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार जेठ ११ गते अपराह्न करिब ४ः५५ बजे तार्केश्वर नगरपालिका–८, जरङ्खुस्थित सडकमा हिँडिरहेकी एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री स्कुटरमा आएका दुई जना व्यक्तिले झिकेर फरार भएका थिए।
घटनापछि प्रहरी वृत्त बालाजु तथा मातहतका प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा जेठ १८ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धादिङको रुबीभ्याली गाउँपालिका–३ घर भई हाल तार्केश्वर नगरपालिका मनमैजु बस्दै आएका २० वर्षीय एनोस तामाङ, नुवाकोटको ककनी गाउँपालिका–२ घर भई हाल तार्केश्वर–७ टुसारचौर बस्दै आएका १९ वर्षीय लाक्पा तामाङ, धादिङ रुबीभ्याली–३ घर भई हाल तार्केश्वर–९ बस्दै आएका २६ वर्षीय हेमन्त तामाङ तथा भारतको पश्चिम बंगाल राज्य, हुग्ली जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्दै आएका ५० वर्षीय शुकुमार पात्र रहेका छन्।
प्रहरीका अनुसार एनोस तामाङलाई तार्केश्वरको लोलाङ, लाक्पा तामाङलाई तिनपिप्ले, हेमन्त तामाङलाई काठमाडौं महानगरपालिका–१६ र शुकुमार पात्रलाई नरदेवीबाट पक्राउ गरिएको हो।
प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरू र चोरी भएको सुन खरिद–बिक्रीमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं (भद्रकाली) पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : June 2, 2026 at 6:02 pm









