१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

चर्चित टिकटकर तुलसा अधिकारी पक्राउ

१७ जेठ, काठमाडाैँ । चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी थाइलैन्डबाट पक्राउ परेकी छिन । उनलाई नेपाल ल्याएर अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । उनको नाममा रेडकर्नर नोटिस जारी भएको थियो ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

हनी ट्र्याप र ठगीको कसुरमा परिवर्तित नाम शंकर चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा दायर गरिएको थियो ।

सहमतिमा शारीरिक सम्बन्ध राखेको विषयलाई हतियार बनाई पीडितलाई जबरजस्ती करणीको झुटो मुद्दा हाल्ने धम्की दिँदै करोडौँ रुपैयाँ ठगी गरेको र उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठितरुपमै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) समेत गरेको ठहर गर्दै प्रहरी प्रतिवेदनका आधारमा सरकारले अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

आपराधिक लाभ लिने र संगठितरुपमा ठगी गर्ने कार्यमा संलग्न निलिका भन्ने नेलिका लामिछाने, मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु र अशोककुमार अग्रवालको संलग्नता रहेको अभियोग पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : May 31, 2026 at 9:15 am