रक्सीका कारण एक महिनामा १२४ दुर्घटना, १२ जनाको मृत्यु
१० जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा देशभर १२४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् ।
तथ्यांकअनुसार सबैभन्दा धेरै मापसेजन्य सवारी दुर्घटना उपत्यकामा भएका छन् । उपत्यकामा मात्रै ३८ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । कोशी प्रदेशमा ३५ दुर्घटना हुँदा २ जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । मधेश प्रदेशमा २० दुर्घटना हुँदा २७ जना घाइते भएका छन् भने मृत्युको घटना नभएको उल्लेख छ ।
बागमती प्रदेशमा १२ दुर्घटना हुँदा १ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा ८ दुर्घटना हुँदा ३ जनाको मृत्यु र १५ जना घाइते भएका छन् । गण्डकी प्रदेशमा ५ दुर्घटना हुँदा ४ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा ३ दुर्घटना हुँदा ३ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि ३ दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति अझै नियन्त्रणमा आउन नसकेको देखिएको छ । प्रहरीले मापसे नियन्त्रणका लागि नियमित चेकजाँच, सचेतना अभियान तथा कारबाहीलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

प्रकाशित मिति : May 24, 2026 at 7:18 pm









