१० महिनामा व्यापार घाटा साढे १४ खर्बः १६ खर्ब ९२ अर्बको आयात हुँदा २ खर्ब ४८ अर्बको निर्यात
८ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) मा नेपालले १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विभिन्न मुलुकबाट १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको (१४ खर्ब ७४ अर्ब १८ करोड) तुलनामा १४.८२ प्रतिशतले बढी हो ।
निर्याततर्फ भने नेपालले केही सुधार गर्दै २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १४.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको निर्यात भएको थियो ।
समीक्षा अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।जुन अघिल्लो वर्षको तुलनामा १४.९२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । तथ्यांक अनुसार कुल व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत र निर्यातको हिस्सा मात्र १२.८२ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : May 22, 2026 at 1:33 pm









