गुणस्तरहिन प्रमाणित करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्नुको साटो मिडियामा विज्ञापनको ज्याकेट बाड्दै यशोदा फुड्स
७ जेठ, काठमाडौँ । सरकारले करेन्ट र लाली चाउचाउ गुणस्तरहिन रहेको प्रमाणित गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएपछि यशोदा फुड्सले गल्ती ढाकछोपका लागि मिडियामा विज्ञापनको ज्याकेट लगाइदिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम सरकारले गुणस्तरहिन रहेको प्रमाणित गरेर दिएको आदेश कार्यान्वयन गराउने भन्दा पनि योशोदाले मिडियाको ध्यान अन्तै मोड्न खोजेको देखिन्छ । उपभोक्ताको स्वास्थ्यसँग गम्भीर खेलवडा गरिरहेको कम्पनी माथि सरकारले थप कारबाही अघि बढाउनुपर्ने देखिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षण, अनुसन्धान तथा कानुनी प्रक्रियालाई उपभोक्ताको बीचमा प्रभाव न्यून गर्न कम्पनीले विज्ञापनको साहरा लिएको देखिन्छ । गुणस्तरहिन सामाग्री फिर्ता नगरी कम्पनीले उत्पादन पूर्ण रूपमा सुरक्षित र गुणस्तरीय रहेको सन्देश प्रवाह गर्नु उपभोक्तालाई भ्रमित पार्ने प्रयास हो । खाद्य ऐन तथा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्थाको विरूद्धमा कम्पनीले प्रचार गरिरहेको देखिन्छ ।
मिडियाहरूमा उपलब्ध गराइएको ज्याकेट विज्ञापनमा करेन्ट र लाली चाउचाउ जस्ता खाद्य सामग्रीमा कुनै समस्या नरहेको दाबी गरिएको छ । तर सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा अखाद्य प्रमाणित भएको सामग्री जवफत गर्ने वा फिर्ता माग्ने विषयमा कुनै ध्यान दिएको पाइदैन ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा चाउचाउ र बिस्कुटहरूमा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको अनिवार्य मापदण्डभन्दा बढी भेट्टाएको थियो । विभागका अनुसार यशोदा फुड्स प्रा.लि (तिलोत्तमा, रुपन्देही) द्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउको ब्याच नम्बर ०४ ए भएको मापदण्ड विपरीत पाएको छ । यस्तै सोही उद्योगबाट उत्पादन भएको ५० ग्रामको ‘लाली’ चाउचाउको ब्याच नम्बर ०२ ए पनि गुणस्तरहीन भेटिएको छ ।
त्यस्तै एशियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि (दुहबी, सुनसरी) द्वारा उत्पादित ७५ ग्रामको ‘ज्याक न्याक क्राकर्स’ बिस्कुटको ब्याच नम्बर ६ मा पनि तोकिएको मापदण्ड पुरा नभएको विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम विभागले ती उत्पादक कम्पनीहरूलाई सम्बन्धित ब्याचका सबै उत्पादनहरू बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।
साथै, सोही ऐनको उपदफा (४) बमोजिम ती सामग्रीहरूको बिक्री वितरण रोक्का गर्न र अर्को सूचना नभएसम्म बिक्री नगर्न र नगराउन समेत महानिर्देशकको निर्देशन बमोजिम आदेश जारी गरिएको छ। सरकारी निकायको आदेश छायाँमा पार्न कम्पनीले विज्ञापनको ज्याकेट बाँडेर उपभोक्ता झुक्याउन खोजेको छ ।
अत्यधिक नुन र मसाला – मुटु र पेटका लागि खतरनाक मानिन्छ । ‘करेन्ट’ जस्ता नुडल्समा अत्यधिक सोडियम (नुन) प्रयोग हुन्छ, जसले उच्च रक्तचाप (BP), मुटु रोग र मृगौला समस्याको जोखिम बढाउँछ। साथै, अत्यधिक मसालेदार झोलले पेट पोल्ने, ग्यास्ट्रिक र अल्सरको समस्या समेत निम्त्याउने गरेको छ । स्वाद बढाउन नुडल्समा हालिने मोनोसोडियम ग्लुटामेट (MSG) र अन्य कृत्रिम रसायन दीर्घकालीन रूपमा शरीरमा असर पार्छन्।

प्रकाशित मिति : May 21, 2026 at 11:53 am









