काठमाडौंका ७ स्थानमा शाखा समायोजन गर्दै कुमारी बैंक
६ जेठ, काठमाडौं। कुमारी बैंकले काठमाडौँभित्र सञ्चालित आफ्ना ७ वटा शाखा कार्यालयहरूलाई नजिकका अन्य शाखाहरूसँग समायोजन गर्ने भएको छ ।
बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ २ गतेदेखि लागू हुने गरी शाखाहरूलाई एकीकृत गरी कारोबार सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
बैंकका अनुसार, कुलेश्वर शाखालाई कालीमाटीमा, रामहिटी शाखालाई बौद्धमा र रातोपुल शाखालाई मैतीदेवी शाखामा समायोजन गरिनेछ ।त्यसैगरी, कोटेश्वर शाखा तिनकुनेमा, पानीपोखरी शाखा महाराजगञ्जमा, ठँहिटी शाखा ठमेलमा र सामाखुसी शाखा गोंगबु शाखामा समायोजन हुन लागेको हो।
महानगरपालिका भित्र नजिकै रहेका शाखाहरूलाई एक आपसमा गाभेर सेवालाई थप प्रभावकारी बनाउन बैंकले यो कदम चालेको हो । शाखा समायोजन भएपछि सम्बन्धित शाखाका ग्राहकहरूले अब समायोजन भई कायम रहेका शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : 10:27









