बार एशोसिएशनको अध्यक्षमा नाै उम्मेदवार, चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच मुख्य प्रतिस्पर्धा
७ फागुन, काठमाडाैँ । नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि उम्मेदवारी दिनेमा प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट चण्डेश्वर श्रेष्ठ, डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) बाट सुनीलकुमार पोखरेल तथा स्वतन्त्र रूपमा डा पुष्पप्रसाद खतिवडा, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुङ्गाना, गजेन्द्रबहादुर थापा, लोकध्वज खाँड र विराट न्यौपानेले उम्मेदवारी दिएका छन ।
उम्मेदवारी दिने सुनिल पोखरेल र चण्डेश्वर श्रेष्ठकाबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो समय सबैजसो कानुन व्यवसायी राजनीतिक रूपमा विभाजित देखिएका कारण कांग्रेस निकटको तर्फबाट उम्मेदवार बनेका पोखरेल र नेकपा निकटको तर्फबाट उम्मेदवानर बनेका श्रेष्ठ मध्ये एक जनाले बारको नेतृत्व गर्नेछन ।
पार्टी एकता भएर कानुन व्यवसायीको संगठन एकता गराएको भए पनि उम्मेदवारीको असन्तुष्टिले यसपटक पनि नेकपा निकटलाइ बारको नेतृत्वमा पुग्न कठिन देखिएको छ । यद्यपी मतदानका दिनसम्म असन्तुष्टहरूको चित्त बुझाउने कुनै काम भए पोखरेललाइ चुनाव जित्न कठिन हुने देखिन्छ ।
बारको १५ सदस्यीय कार्यसमितिका लागि ६४ जनाले उम्मेदवारी दिएका छन् । नेपाल बार एशोसिएशन निर्वाचन २०७५ का प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ ।

महासचिव पदका लागि लीलामणि पौडेल, सुरेन्द्रबहादुर थापा, रामहरि त्रिपाठी गरी तीनको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि सातै प्रदेशबाट एक/एक र एक महिला गरी आठ रहने व्यवस्था छ । बारको कार्यसमितिमा एक कोषाध्यक्ष, सदस्यमा दलित एक, मधेशी/मुस्लिम दुई, आदिवासी जनजाति दुई, महिला दुई र आठजना खुल्ला सदस्य रहने व्यवस्था छ ।
निर्वाचनको कार्यतालिकाअनुसार सोमबार उम्मेवादवारी दर्ता गर्ने, यही फागुन ८ गते दाबी विरोध, अन्तिम नामावली प्रकाशन फागुन ११ गते रहेको छ । देशभरका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । बारको केन्द्रीय कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
प्रकाशित मिति : 08:44









