नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतमाथिको अनुसन्धानबारे स्पष्टीकरण
३१ वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेमाथि ऋणी स्मार्ट टेलिकम प्रालिलाई लिलाम बिक्री गरेको आरोपबारे बैंकको ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको प्रेस विज्ञप्तिपछि विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो।
बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र सुरक्षित कारोबार ऐन २०६३ ले दिएको अधिकारअनुसार कर्जा असुली निर्देशिकाअनुरूप प्रक्रिया अघि बढाइएको जनाएको छ। बैंकले नियामकीय व्यवस्था पालना गर्दै कर्जा असुलीको कानुनी दायित्वअन्तर्गत कारबाही गरिएको स्पष्ट पारेको छ।
बैंकले अनुसन्धानका लागि सम्बन्धित निकायले माग गरेका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकका अनुसार २०८२/०६/०३ मा स्मार्ट टेलिकमको सम्पत्ति लिलामीको सूचना प्रकाशित गरेको थियो, जसबाट कुल ४ अर्ब ६० करोड रुपैयाँ प्राप्त भएको र प्राप्त रकममध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरणको कर्जा सुविधा चुक्ता गर्न प्रयोग गरिएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। बाँकी ३८ करोड रुपैयाँ हाल बैंकको ‘Earnest Money Auction Account’ मा रहेको बैंकले जानकारी दिएको छ। यो रकम सम्बन्धित निकायबाट खाता रोक्का रहेका कारण र टेलिकमले बुझाउन बाँकी बहाल तथा विद्युत महशुल भुक्तानी गर्ने प्रयोजनका लागि राखिएको बैंकले जनाएको छ।
साथै, अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, सेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने विश्वास व्यक्त गर्दै बैंकले सम्पूर्ण सरोकारवालालाई आश्वस्त रहन आग्रह गरेको छ।

प्रकाशित मिति : 10:37









