१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

आयुक्त पाठकलाई घुस खुवाउने मुख्य योजनाकार कांग्रेस सांसद सूर्यबहादुर केसी रहेको खुलासा

६ फागुन, काठमाडाैँ । भक्तपुर दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक लम्बोदर कुमार न्यौपानेसहितले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई घुस खुवाएर भिडियो खिच्ने योजनाका मुख्य योजनाकार नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसी रहेको खुलासा भएको छ । कलेजकै सञ्चालक मध्ये एकले नाम नबताउने सर्तमा दैनिकीसँग भने ‘उहाँ लम्बोदर न्याैपाने पनि कांग्रेसकै नेता हुनुहुन्छ, हाम्रो अर्का एक सञ्चालक सूर्यबहादुर केसी त कांग्रेसकै सांसद हुनुभो । उहाँहरूले सल्लाह गरेर नै घुस खुवाउने, भिडियो खिच्ने गर्नु भएको हो । बरू कम्पनी रजिष्टारको कार्यालय, पाटन उच्च अदालत र शिक्षा मन्त्रालयको पनि यथार्थ भिडियोहरू सार्वजनिक हुनुपर्छ ।’

कलेजको सम्पत्ति कब्जा गर्ने नियतले नै केसीले न्याैपानेलाइ परिचालन गरेको उनले अारोप लगाए । न्याैपानेको लुटमा साथ दिने अन्य सञ्चालकहरूमा रामरतन उपाध्याय, उपेन्द्र गाैतम, लवराज भट्टराइ पनि छन । कलेज भित्रै करोडौँ रूपैयाँ भ्रष्टाचारको आरोपमा बहिष्कृत न्यौपानेका अनेक हर्कतहरू यसअघि नै सञ्चार माध्यममा सार्वजनिक भैसकेका छन । अख्तियारले अब घुस खाने राजनारायण पाठकसँगै घुस खुवाउने न्याैपाने, केसी लगायत माथि पनि अनुसन्धान गर्ने तयारी गरेको छ । उनीहरूले नेपाली कांग्रेसकै संयन्त्र प्रयोग गरेर कांग्रेसले नै नियुक्त गरेका पाठकलाइ रोजेर घुस खुवाएको बुझिएको छ ।

यसैबीच अख्तियार दुरूपयोग अनुसन्धानका आयोगका आयुक्तमा नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका राजनारायण पाठकलाई ९ देखि १२ वर्षसम्म जेल सजाएँ हुने देखिएको छ । तर त्यसका लागि भने अख्तियारले नै उनीविरूद्ध थप अनुसन्धान गरी विशेष अदालतमा मुद्दा चलाउनुपर्ने हुन्छ । अहिले राजनारायण पाठकले राजीनामा दिएपछि उनीमाथि थप कारबाही हुन्छ कि हुन्न भन्ने प्रश्न उठेको छ र यही विषयलाई लिएर सरकारको आलोचना पनि भैरहेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ ले घुस लिने व्यक्तिलाई विगो बमोजिम जरिवाना गर्नुपर्ने भनेको छ। उक्त दफामा ५० लाख देखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ वर्ष देखि ८ वर्षसम्मको कैद हुने पनि भनिएको छ। यही ऐनको उपदफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घुस लिएको प्रमाणित भए थप तीन वर्षसम्म कैद सजाय पाउने उल्लेख छ। अख्तियारको आयुक्त हुँदा उनले घुस लिएको प्रमाणित भए यी दुवै व्यवस्था अनुसार ९ देखि १२ वर्षसम्म कैद र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।

पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस खाएका थिए । स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएको थियो । उनले खाएको यो घुस पहिलो भने होइन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तमा नियुक्त भएर काम गरेपनि अदालतबाट उक्त पदका लागि अयोग घोषित भएका लोकमानसिंह कार्कीका लागि उनले अख्तियार प्रवेश गरेदेखि नै घुस खाने गरेको चर्चा चल्ने गरेको थियो । प्रमाणको रूपमा एउटा भिडियो सार्वजनिक भएपछि भने उनले राजिनामा दिएका छन ।

पाठकले घुस खाएको भिडियो प्रधानमन्त्री केपी शर्मा ओली, अख्तियार प्रमुख नविन कुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलले समेत हेरेका छन । पाठकलाइ तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले अख्तियारमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : February 18, 2019 at 10:45 am