१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक

१६ वैशाख, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ। विशेष गरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ। बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गरिरहेको बैंकले कृषक तथा कृषि उद्धमीलाई आकर्षित गर्न कृषिसंग सम्बन्धित कर्जामा प्रशोधन शुल्कमा समेत सुविधा प्रदान गर्दै आईरहेको छ।

कुखुरापालन, बाख्रापालन, गाईपालन, भैंसीपालन, माछापालन लगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैंकले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषी उत्पादनलाई जोड दिंदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने गरेको छ। त्यसैगरी स्थानीय साना कृषकलाई लक्षित गरी कुनैपनि प्रशोधन शुल्क नलिई बैंकले ४.७५ प्रतिशत ब्याजदरमा १० लाखसम्म साना किसान सरल कर्जा उपलब्ध गराईरहेको छ । साथै बैंकले किसानहरुका लागि ‘किसान क्रेडिट कार्ड’को सुविधा पनि उपलब्ध गराईरहेको छ।

कृषि कर्जाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति जारी गरी कृषि कर्जा कार्यविधि समेत लागू गरेको छ । त्यसैगरी कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउन बैंकको केन्द्रिय कार्यालयमा छुट्टै कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ। यस क्षेत्रमा दक्ष कृषि विज्ञलाई कर्मचारीको रुपमा भित्र्याई बैंकले विभाग, प्रादेशिक कार्यालयहरु र शाखा कार्यालयहरुमा खटाउँदै आएको छ। बैंकले ७७ वटै जिल्लाहरुमा रहेका आफ्ना सबै ३१४ वटै शाखाहरु मार्फत कृषि कर्जा उपलब्ध गराउँदै कृषि कर्जामा ग्रामिण कृषकहरुको पहुँच सुनिश्चित गरेको छ। साथै बैंकले समय समयमा ग्राहकहरुलाई वित्तीय सचेतनाका कार्यक्रम मार्फत कृषि कर्जाको बारेमा जानकारी समेत गराउने गरेको छ।

परम्परागत रूपमा निर्वाहमुखी कृषि पेशामा आबद्ध ग्रामिण किसानहरुलाई लक्षित गर्दै यस बैंकले सरकारी नीति तथा प्राथमिकतालाई आत्मसाथ गरी कृषि कर्जा मार्फत पूँजी परिचालन गर्ने र कृषिको यान्त्रिकीकरण तथा व्यवसायीकरणमा सहयोग पुर्‍याउँदै आइरहेको छ।

यसले कृषीको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, प्रत्येक्ष तथा अप्रत्येक्ष रोजगारी सिर्जना, स्वरोजगार तथा आय आर्जनमा वृद्धि, ग्रामीण अर्थतन्त्रको विकास, मूल्य शृंखलामा वृद्धि जस्ता अर्थतन्त्रका विविध पाटामा सकारात्मक प्रभाव पारेको बैंकले जनाएको छ।

प्रकाशित मिति : April 29, 2026 at 12:43 pm