९ महिनामा वाणिज्य बैंकको नाफा ४९ अर्ब २१ करोडः नबिल बैंक अगाडि, कुनकाे कति ?
१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैंकको नाफा ४९ अर्ब नाघेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्यले चालु आर्थिक वर्षको ९ महिनामा ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म बैंकहरुले कुल ४१ अर्ब २५ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएका थिए।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । नबिलले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाउँदै पहिलो स्थानमा रहेकाे हाे । बैंकको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ३३.९२ प्रतिशतले बढेको हो ।
दोस्रोमा ग्लोबल आईमएई बैंक रहेकाे छ । बैंकले तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड ९२ लाख लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले घटेको हो । कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । गत आबको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँ मात्रै रहेको बैंकको नाफामा उच्च वृद्धि देखिएको छ ।
तेस्रो त्रैमाससम्म एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम देखिएको छ । बैंकले चैतसम्म १४ करोड ३ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले घटेको हो । हिमालयन बैंकले तेस्रो त्रैमाससम्म ७६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा बैंकको नाफा ५२.४९ प्रतिशतले बढेको हो । प्रभु बैंकले ८५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ५४.६१ प्रतिशतले घटेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको छ । माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ रहेकाे छ । सानिमा बैंकको नाफा ४२.२२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड २ लाख रुपैयाँ पुगेको छ । सिटिजन्स बैंकको नाफा ३५.८२ प्रतिशतले बढेर १ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकको नाफा ३८.५८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड ९३ लाख रुपैयाँ पुगेकाे छ । लक्ष्मी सन्राइज बैंकको नाफा २३.३६ प्रतिशतले बढेर २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । याे अवधिमा नेपाल एसविआई बैंकको नाफा २१.४९ प्रतिशतले बढेर १ अर्ब ४६ करोड १८ लाख रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको नाफा २०.७८ प्रतिशतले बढेर २ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
साथै, एनएमबि बैंकको नाफा १३.२५ प्रतिशतले बढेर २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल बैंकको नाफा ०.३४ प्रतिशतले बढेर २ अर्ब ७९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरुको समग्रमा नाफा बढेपनि ७ वटा बैंकको नाफामा भने गिरावट आएको छ । सबैभन्दा धेरै नाफा घट्नेमा प्रभु बैंक रहेको छ । प्रभु बैंकको नाफा ५४.६१ प्रतिशतले घटेको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६८ लाख रुपैयाँमा झरेको छ ।
कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ४० लाख रुपैयाँमा झरेको छ । एनआईसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट र ग्लोबल आईएमई बैंकको नाफामा पनि केही गिरावट आएको छ ।
प्रकाशित मिति : 11:16









