प्रभु बैंकको नाफा ८५ करोडमा खुम्चियो, खराब कर्जा बढेर ९ प्रतिशत नजिक
१५ वैशाख, काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ८५ करोड १५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.६१ प्रतिशतले कम हाे । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले१ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाफा कमाएकाे थियाे ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब २८ करोड रुपैयाँले ऋणात्मक बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा वितरणयोग्य मुनाफा ३ अर्ब ३९ करोडले मात्र ऋणात्मक थियो । तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८ करोड रुपैयाँ थियो । यस्तै, खुद फि तथा कमिसन आम्दानी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा २ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १ अर्ब १७ करोडले कम हो ।
बैंकको खराब कर्जा अनुपात पनि ५.०९ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ । चैत मसान्तमा बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ४.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.२६ रुपैयाँ रहेकाे छ ।
प्रकाशित मिति : 10:02









