हिमालयन बैंकको नाफा ७६ करोड २५ लाख, प्रतिसेयर आम्दानी कति ?
१५ वैशाख, काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ७६ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.४९ प्रतिशतले बढी हाे । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ नाफा गरेको थियाे ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ८३ करोड २१ लाख रुपैयाँ रहेको छ । गत वर्ष ७ अर्ब ७५ करोड २४ लाख रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफा १ अर्ब १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३ अर्ब ८१ करोड १५ लाख रुपैयाँ थियो । बैंकले चालु आवको चैत मसान्तसम्ममा ३ अर्ब १२ करोड ५३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ थियो ।
चैत मसान्तसम्ममा बैंकले ३ खर्ब ३८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ४.५० रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ १७१.९६ रुपैयाँ रहेकाे छ ।
प्रकाशित मिति : 09:53









